Monday, June 17, 2019

सत्ताको लागि चलखेल अन्त्य गर्न आवश्यक : प्रचण्ड

प्रकाशित मिति: 2018/03/06

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं संसदीय दलका नेता पुष्पकमल दाहाल प्रचण्डले अब सत्ताको लागि गरिने चलखेल अन्त्य गर्न सङकल्प गर्नुपर्ने समय आएको बताएका छन् । 

संसद बैठकमा संबोधन गर्दै प्रचण्डले भने ‘अब त्रुटी सच्याउन राजनीतिक दलहरु तयार हुनुपर्छ, राष्ट्र र जनताका निम्ति जस्तोसुकै तपस्या र त्याग गर्न तयार हुनुपर्छ’ ‘हिजोजस्तो बेथितिका लागि प्रतिस्पर्धा गर्ने, हिजोजस्तो पदका निम्ति जस्तोसुकै जे गर्न पनि तयार भएको अवस्था अब हुनुहुँदैन, पुरानो तरिका अपनाउने छैनौं ।’ संसदमा सत्तापक्ष र प्रतिपक्षको नाममा अनेक विकृति भित्र्याउने प्रतिस्पर्धा पनि अब नहुने प्रचण्डले दाबी गरे ।

राज्य संरचनामा सुशासन र भ्रष्टाचार ब्याप्त रहेको भन्दै यसलाई अन्त्य नगरेसम्म विकास र समृद्धितर्फ अघि बढ्न नसक्ने बताए । ‘सुशासन हामी आफैंभित्रबाट खोज्नुपर्छ, हाम्रो राज्य संरचनाको काम गर्ने प्रवृत्ति बिग्रेको छ’ उनले प्रश्न गरे ‘सबैभन्दा ठूलो समस्या भ्रष्टाचार ब्याप्त छ । भ्रष्टाचारी र ठगहरुलाई कसले कसरी अन्त्य गर्ने हो ?’ प्रचण्डले राजनीतिक दलहरु विगतका त्रुटी सच्याएर अघि बढ्न तयार हुनुपर्ने बताए ।

प्रचण्डले छिमेकीसँगको सम्बन्धनमा पनि सन्तुलन कायम गर्ने बताउँदै भारत परस्त र चीन परस्त भन्ने युग पनि सकिएको दावी गरे । उनले भने ‘अब न चीन परस्त, न भारत परस्त हामी सबै नेपाल परस्त, हामी अन्तर्राष्ट्रिय समुदायसँग राम्रो सम्बन्ध राखेर देशको विकास गर्न चाहन्छौं ।’

प्रचण्डले नेपाललाई विकासको युगतिर अगाडि बढाएर विदेश गएका लाखौं नेपालीलाई स्वदेश फर्काउने पनि दावी गरे ।

प्रचण्डले प्रधानममन्त्री केपी शर्मा ओलीले संविधान संशोधन गर्न तयार रहेको बताउनुले राष्ट्रिय एकताका साथ विकास र समृद्धितिर जाने सन्देश दिएको बताएका छन् । प्रधानमन्त्री ओलीले मधेसी दलसँगको छलफलमा संविधान संशोधनका लागि तयार रहेको प्रधानमन्त्रीले बताउनुले सबै समुदायबीच एकताका साथ विकास र समृद्धितिर जाने सन्देश दिएको बताएका हुन् ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पनि संविधान संशोधनमा सघाउने बताउनुले प्रतिपक्ष र सत्तापक्ष मिलेर अघि बढ्ने संकेत देखिएको बताएका हुन् ।

प्रचण्डले बिद्रोह र आन्दोलन नगरी माग पूरा गर्ने बाटो संविधानले नै दिएको भन्दै अब हिंसा र आन्दोलनको आवश्यकता नरहेको दावी गरे ।

तपाईंको बिचार