Tuesday, February 19, 2019

आयोजनाको प्रगति विवरण तत्काल पेश गर्न ऊर्जा मन्त्रीको निर्देशन

प्रकाशित मिति: 2018/04/30

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले सरकारी तथा निजी क्षेत्रको लगानीमा निर्माणाधीन जलविद्युत आयोजनाको प्रगति विवरण तत्काल पेश गर्न निर्देशन दिनु भएको छ । आयोजनाका काम सन्तोषजनक नरहेको भन्दै ऊर्जा मन्त्री पुनले सरोकारवाला निकायलाई तत्काल विवरण बुझाउन निर्देशन दिनु भएको हो । 

प्राधिकरण अन्तर्गतका सहायक तथा निजी लगानीका कम्पनीलाई १५ दिनभित्र विवरण पेश उहाँले निर्देशन दिनु भएको हो ।  मन्त्री पुनको निर्देशन पछि विद्युत् प्राधिकरणले पनि निजी क्षेत्रका आयोजनाको प्रगति विवरण माग्न सुरु गरेको छ । प्राधिकरणले आज सूचना जारी गरी विद्युत खरिद सम्झौता भएका आयोजनालाई १५ दिनभित्र प्रगति विवरण र आयोजना सम्पन्न हुने अनुमानित समयबारे जानकारी दिन निर्देशन दिएको छ । मन्त्री पुनले आयोजना निर्माणमा देखिएको ढिलाईले ऊर्जा तथा जलविद्युत विकासको लक्ष्यमा असर परेकाले अनुगमन गर्न जरुरी रहेको बताउनुभयो । 

निजी क्षेत्र मात्र नभई प्राधिकरण र यसका सहायक कम्पनीले निर्माण गरिरहेका आयोजनाको समेत अनुगमन हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।  निर्माण स्वीकृति लिएर काम सुरु नगर्ने आयोजनाहरुले कुनै पनि बहानामा छुट नपाउने मन्त्री पुनले बताउनुभयो । प्राधिकरणले आफूसँग विद्युत खरिद सम्झौता भएका आयोजनाहरुमध्ये थोरैले मात्र प्रगति विवरण बुझाएको सूचनामा उल्लेख गरेको छ ।

तपाईंको बिचार