Friday, April 19, 2019

ओलीले मोदीलाई जानकी मन्दिरमा स्वागत गर्ने

प्रकाशित मिति: 2018/05/08

काठमाडौं । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जनकपुरमा सरोकारवाला निकायसँग छलफलपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आसन्न भ्रमण तालिका सार्वजनिक गरेका हुन् । 

जनकपुरमा प्रदेश सरकारका मुख्यमन्त्री, मन्त्री, भारतीय राजदूत, नेपाल प्रहरीका आइजिपी, जनकपुर उपमहानगरपालिकाका मेयरसँगको छलफलपछि परराष्ट्रमन्त्री ज्ञवालीले मोदीको भ्रमण तालिका सार्वजनिक गरेका हुन् । ज्ञवालीले मोदीको जनकपुर भ्रमणमा स्वागत्, जानकी मन्दिर दर्शन, द्विपक्षीय विकासका एजेन्डा, नागरिक अभिनन्दनलगायत सम्बन्धमा औपचारिक जानकारी गराएका थिए ।

२८ वैशाख बिहान ९ बजे भारतीय वायु सेनाको हेलिकोप्टरबाट मोदी जनकपुर विमानस्थल वा बाह्रबिघामा अवतरण गर्नेछन् । प्रधानमन्त्री ओलीको हेलिकोप्टर भने जनकपुर चुरोट कारखानमा ल्यान्ड गर्नेछ । मोदीलाई हेलिकोप्टरबाट उत्रेलगत्तै रक्षामन्त्री ईश्वर पोखरेलले भारतीय प्रधानमन्त्री मोदीलाई स्वागत गर्नेछन् ।

विमानस्थलबाट मुरली चोक, भ्रमपुर चोक हुँदै रामानन्द चोक र रामानन्दबाट जानकी चोक हुँदै जानकी मन्दिर पुग्नेछन् । त्यहाँ प्रधानमन्त्री केपी ओलीले स्वागत गर्नेछन् । त्यसपछि मोदी र ओलीले करिब ३० मिनेट जानकी मन्दिरमा विशेष पूजापाठ गरी जानकी मन्दिरकै प्रांगणमा रामायण सर्किटको उद्घाटन संयुक्त रूपमा गर्नेछन् । रामायण सर्किटसँगै जनकपुर अयोध्या बससेवालाई हरियो झन्डा देखाएर सञ्चालन गर्नेछन् । जुन बस भारतीयले नै ल्याउनेछन् । बसलाई हरियो झन्डा देखाएर प्रधानमन्त्री ओली काठमाडौं लाग्नेछन् भने मोदी बाह्रबिघा जानेछन् । जहाँ मोदीलाई नागरिक अभिन्दन ग्रहण गरिनेछ ।

नागरिक अभिन्दनपश्चात् करिब साढे १० बजे मोदीले सम्बोधन गर्नेछन् । त्यसपछि मोदी काठमाडौं प्रस्थान गर्नेछन् । भारतीय प्रधानमन्त्री सम्मिलित प्रतिनिधिमण्डल र नेपाली प्रतिनिधिमण्डलबीच काठमाडौंमा औपचारिक वार्ता हुनेछ । वार्तापछि सहमतिमा हस्ताक्षर गर्दै ओली र मोदीले संयुक्त पत्रकार सम्मेलन गर्नेछन् । राष्ट्रपति, उपराष्ट्रपतिसँग औपचारिक भेटवार्ता सकेर मोदी भोलिपल्ट मुक्तिनाथ दर्शनमा जानेछन् । त्यसपछि काठमाडौं फर्केर मोदी भारत प्रस्थान गर्ने छन् । 

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणले जनकपुर क्षेत्रको सांस्कृतिक पर्यटकीय विकासमा महत्वपूर्ण योगदान पुग्ने विश्वास गरिएको छ । नागरिक अभिनन्दनपछि सम्बोधनको क्रममा मोदीले विशेष प्याकेज घोषणा गर्ने आंकलन गरिएको छ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले पनि गृहकार्य भइरहेको जनाए । त्यसका लागि प्रदेश सरकारले भने कुनै गृहकार्य गरेको छैन । 

मोदीको सुरक्षामा खटिने सुरक्षाकर्मीसहित सुरक्षा अधिकारीहरूलाई लिएर भारतीय एयर फोर्सको हेलिकोप्टर दिल्लीबाट सीधै जनकपुर आएको छ । फर्कने क्रममा भने काठमाडौं हुँदै दिल्ली गएको प्रहरीले जनाएको छ । मोदीको भ्रमण सम्बन्धमा भारतीय सेनाको हेलिकोप्टर दोस्रोपटक जनकपुरमा अवतरण भएको हो । त्यस लगत्तै भारतीय र नेपाली सुरक्षाकर्मीबीच बैठक बसेको थियो ।

तपाईंको बिचार