Wednesday, June 26, 2019

नेकपा र फोरमबीच दुईबुँदे सहमति

प्रकाशित मिति: 2018/05/28

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी र संघीय समाजवादी फोरम नेपालबीच सरकारमा सहभागि हुने विषयमा सहमति भएको छ। सोमबार दुई दलबीच भएको वार्तमा यस विषयमा सहमति जुटेको हो । 

दुई दलबीच भएको वार्तामा दुई बुँदे सहमतिपत्रमा हस्ताक्षर भएको छ। नेकपाको तर्फबाट सहमतिपत्रमा दुई अध्यक्षहरु प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले र फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले हस्ताक्षर गरेका छन् । 

सहमति अनुसार फोरम नेपालले उठाउँदै आएका मागहरु सम्वोधन गर्न नेकपा सहमत भएको छ । फोरमले आन्दोलनका क्रममा उठाएका माग र मुद्धाहरुका सम्बन्धमा संविधान संशोधनसँग सम्बन्धित विषयहरु देश र जनताको पक्षमा आपसी सहमतिका आधारमा संविधान संशोधन गरिने भएको छ। 

त्यस्तै फोरमले उठाएका अन्य माग सम्वोधन गर्न सरकारको नीति तथा कार्यक्रममा समावेश गर्न समेत सहमति जुटेको छ । त्यसका लागि आन्तरिक गृहकार्य गरी सहमतिमा समाधान गर्ने सहमति जुटेको छ। त्यस्तै यही सहमतिका आधारमा फोरम सरकारमा सामेल हुने भएको छ। 

यो सहमतिसँगै प्रदेश २ मा समेत सत्ता समिकरण बद्लिने सम्भावना बढेको छ । प्रदेश २ मा फोरम र राजपा गठबन्धनको सरकार छ । यसअघि नेकपाले समेत सरकारलाई समर्थन दिएको थियो। 

आइतबार मात्र नेकपाले सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो । त्यस्तै फोरम र राजपाबीच बजेट निर्माणका विषयमा असहमति चुलिँदै गएको छ। 

तपाईंको बिचार