Tuesday, February 19, 2019

कांग्रेसलाई बहुमत पुग्नेगरी पुरानै अवस्थामा लानुपर्छ : देउवा

प्रकाशित मिति: 2018/06/22

हेटौंडा । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीलाई कुनै पनि हालतमा नम्बर एक बनाउनुपर्ने बताएका छन् । जिल्ला सभापतिहरुको भेला समापन कार्यक्रमलाई मकवानपुरको हेटौंडामा सम्बोधन गर्दै सभापति देउवाले यसका लागि आजैबाट अहोरात्र खट्ने प्रतिबद्धतासमते जाहेर गरे ।

कुनै पनि हालतमा पार्टीलाई नम्बर वान बनाउनुपर्छ । बहुमत पुग्नेगरी पुरानै अवस्थामा लानुपर्छ । यसका लागि साथीहरु पनि लाग्नुपर्‍यो । म पनि आजैबाट लाग्छु, देउवाले भने। देशभरका साथीहरुले निर्वाचनका हारको कुरा गरेको उल्लेख गर्दै यसमा आफ्नो पनि कमजोरी रहेको देउवाको स्वीकारोक्ति थियो । 

प्रधानन्यायाधीशलाई महाभियोग लगाएको सन्दर्भमा सभापतिहरुले बन्दसत्रमा देउवाबाट जवाफ मागेका थिए । देउवाले जाली काम गर्नेलाई सहयोग गरेकाले सुशीला कार्कीलाई महाभियोग लगाउन बाध्य भएको बताए । उनले भने, त्यो जाली काम गर्ने सिलवाल (सांसद नवराज सिलवाल) अहिले कुन पार्टीमा छ ? दुईटा कार्यसम्पादन मुल्यांकन बोकेर हिडेको छ । त्यस्तो कामलाई सदर गरिदिने उही प्रधानन्यायाधीश । त्यसैल बाध्य भएर महाभियोग लगाउनुपर्‍यो । सत्य कुरामा धेरैले विश्वास नगर्ने देखिएको देउवाको गुनासो थियो ।

सभापति देउवाले निर्वाचनका क्रममा बम विस्फोटमा परी घाइते भएका उदयपुरका सांसद उम्मेदवार नारायण कार्कीलाई पार्टीको केन्द्रीय समितिले ५ लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरे।

समापन समारोहमा देउवाले जिल्ला सभापतिहरुको सुझाव पार्टीका लागि निकै महत्वपूर्ण भएको धारणा राखे।

तपाईंको बिचार