Saturday, October 19, 2019

अवरुद्ध गरेको संसद बैठक गृहमन्त्री पुगेपछि सुरु

प्रकाशित मिति: 2018/06/25

काठमाडौं । गृहमन्त्री उपस्थित नभएपछि प्रतिनिधिसभामा बजेटको मन्त्रालयगत शीर्षकमाथिको छलफल स्थगित भएको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले मन्त्रालयगत बजेटको छलफलमा गृहमन्त्री उपस्थित नभएकोप्रति आपत्ति जनाएपछि बैठक १० मिनेट स्थगित भएको हो ।

बैठकमा आइतबारदेखि उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय, परराष्ट्र मन्त्रालय र गृह मन्त्रालयमाथि छलफल जारी छ । यिनै मन्त्रालयमाथि सांसदहरुले धारणा राख्नेक्रम सोमबार पनि जारी छ । तर गृहमन्त्री रामबहादुर थापा बादल प्रतिनिधिसभा बैठकमा नदेखिएपछि कांग्रेसले आपत्ति जनायो ।

कांग्रेसका सांसद देवप्रसाद तिमल्सिनाले विभिन्न मन्त्रालयमा विनियोजित बजेटको दफाबार छलफलमा सम्बन्धित मन्त्री नै अनुपस्थित रहेको भन्दै नियमापत्ति गरे । संसदमा मन्त्रालयगत छलफलका लागि सम्बन्धित मन्त्रालयका मन्त्री उपस्थित हुनुपर्ने नियमावलीमा व्यवस्था छ । सोही विषयलाई लिएर संसद अवरुद्ध गरेपछि सभामुख कृष्णबहादुर महराले बैठक १० मिनेट स्थगित गरे ।

सभामुख कृष्णबहादुर महराले केही समयमा नै बैठकमा आइपुग्ने भनेर गृहमन्त्रीले खबर पठाएको बताए । तर कांग्रेस सांसदहरुले उठेर विरोध जनाइरहे । नियमापत्ति गर्ने सांसद तिमल्सिनाले बोल्न खोजिरहे तर सभामुखले समय दिएनन् । कांग्रेसका अर्का नेता मिनेन्द्र रिजालले सभामुखबाट समय उपलव्ध नभएपनि सभामुखसँग सवालजवाफ गरिरहे । 

प्रतिनिधिसभाको बैठक स्थगित भएको १० मिनेट नबित्दै गृहमन्त्री बादल साईरन बजाउदै संसद भवन आइपुगे । नभन्दै १० मिनेटभित्रै प्रतिनिधिसभाको छलफल पुनः प्रारम्भ भयो । अहिले सत्तापक्ष तथा प्रतिपक्षी सांसदले उर्जा, परराष्ट्र र गृह मन्त्रालयमा विनियोजित बजेटमाथि आफ्नो धारणा राखिरहेका छन् ।

तपाईंको बिचार