Wednesday, October 16, 2019

अमेरिकी सिनेटर जोन म्याक्केनको ८१ वर्षको उमेरमा निधन

प्रकाशित मिति: 2018/08/26

वासिङ्टन । अमेरिकाको राष्ट्रपतीय उम्मेदवार रहिसकेका चर्चित राजनीतिज्ञ सिनेटर जोन म्याक्केनको मस्तिष्क क्यान्सरका कारण शनिबार निधन भएको छ । उहाँ ८१ वर्षका हुनुहुन्थ्यो । भियतनाममा अमेरिकी सेनाका तर्फबाट युद्ध लडेका म्याक्केन सैनिक जीवनबाट अवकाश लिएसँगै राजनीतिमा आउनुभएको थियो । 

अमेरिकी राजनीतिमा आक्रामक स्वभाव भएका रिपब्लीकन पार्टीका वरिष्ठ नेता म्याक्केन कतिपय नीतिहरुमा पार्टी धारणाभन्दा भिन्न विचार राख्ने गर्नुहुन्थ्यो । उहाँ राष्ट्रपति डोनाल्ड ट्रम्पका कट्टर आलोचक मानिनु हुन्थ्यो । उहाँ अमेरिकाको एरिजोना राज्यबाट छ पटक सिनेटमा चुनिनु भएको थियो । राष्ट्रपतिमा रिपब्लीकनका तर्फबाट उम्मेदवार हुनुभएका म्याक्केन पूर्व राष्ट्रपति बाराक ओबामासँग पराजित हुनु भएको थियो । 

ओबामासँग चुनावमा पराजित भएपछि पनि म्याक्केनले राजनीतिबाट अवकाश लिनु भएन । उहाँ पुनः सिनेटमा निर्वाचित हुनुभयो । अमेरिकी राजनीति र राष्ट्रपतिका नीतिहरुमा खुला छलफल र कडा बहसमा उत्रन रुचाउने उहाँको पछिल्लो समय राष्ट्रपति डोनाल्ड ट्रम्पसँग विभिन्न विषयमा तिब्र मतान्तर रहिआएको थियो । 

सैनिक परिवारका म्याक्केनले संसदको सैनिक सेवा समितिको अध्यक्षको रुपमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो । उहाँ अमेरिकी सैनिकको व्यापक उपस्थिति विश्वमा रहनुपर्दछ भन्ने धारणा राख्नुहुन्थ्यो । उहाँ अमेरिकालाई ध्वस्त पार्न चाहने उग्रवादी इस्लामी बललाई परास्त गर्नुपर्नेमा दृढ विचार राख्नुहुन्थ्यो । 

सन् २०१७ मा उहाँले गरेको एउटा नाटकीय मतदान सदैब सम्झना गर्ने गरिन्छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले खारेज गर्न चाहेको जीवन बीमा सम्बन्धी चर्चित विधेयक “एफोर्डेबल केयर एक्ट” मा म्याक्केनले लामो छलफलपछि विपक्षमा मतदान गर्नुभएको थियो । त्यही एक मतका कारण ट्रम्पको प्रस्ताव बिफल हुनुका साथै ओबामाले ल्याएको ऐनले निरन्तरता पाएको थियो । 

म्याक्केनको निधनप्रति राष्ट्रपति ट्रम्प, पूर्व राष्ट्रपति बाराक ओबामा लगायत अन्य विशिष्ट व्यक्तिहरुले दुःख व्यक्त गर्दै अमेरिकाले एकजना इमान्दार र असल व्यक्ति गुमाएको प्रतिक्रिया दिनुभएको छ । 

तपाईंको बिचार