Friday, December 15, 2017

आन्दोलनमा ज्यान गुमाउनेलाई ५० लाख दिने मधेशी मोर्चाको निर्णयको सर्वत्र विरोध

प्रकाशित मिति: 2015/08/21

आफ्नो मागको पक्षमा लागेर ज्यान गुमाउनेहरूको परिवारलाई प्रादेशिक सरकार बनेपछि रु.५० लाख रुपैयाँका साथै सहिद घोषणा गर्ने  संयुक्त मधेसी मोर्चाको निर्णयले संसदभित्र र बाहिर कडा प्रतिरोध सृजना गरेको छ । 
संविधानसभामा बोल्ने सभासद्हरूले मोर्चाको निर्णयको विरोध गर्दै कुरा उठाएपछि सभामुख सुवासचन्द्र नेम्वाङले तत्काल त्यसबारे जानकारी दिन सरकारलाई निर्देशन दिएका छन् । संसदबाहिर पनि मानवअधिकार तथा प्रजातान्त्रिक मूल्यविपरीतको कार्य भन्दै सो निर्णयको कडा निन्दा भएको छ । 
आन्दोलनमा लागेर ज्यान गुमाउन आग्रह गर्नु र त्यसवापत ५० लाख रुपैयाँ दिन्छु भन्नु मानवअधिकार तथा प्रजातान्त्रिक मूल्यविपरीत भएको भन्दै त्यसबारे संसदलाई पूर्ण जानकारी दिन सभासदहरुले माग गरेका थिए । उनिहरुले आन्दोलन उचाल्न सहिदको मूल्य पचास लाख तोकिएको भन्दै कडा विरोध गरेका थिए ।
केही सभासदले मोर्चाको निर्णय घृणित भएको भन्दै सोका विरुद्ध खेद प्रस्ताव पारित गर्न संसदको ध्यानाकर्षण गरेका थिए । आन्दोलनका नाममा जनताको मूल्य तोक्ने कार्य मानवअधिकारविरोधी र संसदीय मूल्यमान्यताको उपहास भएको उनिहरुको ठहर थियो । उनिहरुले यस्तो गर्ने अधिकार ती दललाई कसले दियो भनी प्रश्न गरेका थिए ।  
बुधबार मोर्चाका वक्तव्य जारी गरी आन्दोलनमा लाग्न सर्वसाधारणलाई आग्रह गर्दै  आन्दोलनका क्रममा कसैको ज्यान गएमा सो व्यक्तिलाई सहिद घोषणा गर्ने र उनीहरूको परिवारलाई ५० लाख रुपैयाँ दिने घोषणा गरेका थिए ।

 

तपाईंको बिचार