Wednesday, July 26, 2017  |    

एमाओवादीमा पुनः अर्को गुटको जन्म

प्रकाशित मिति: 2015/08/23

यसअघि नै विभिन्न चिरामा विभाजन खेपेको तथा अझै पनि आन्तरिक द्धन्द्ध कायम रहेको सन्दर्भमा एकिकृत नेकपा माओवादीमा पुनः अर्को गुट जन्मिएको छ । एकता केन्द्रबाट आएका नेताहरुको एक समूहले पार्टी अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वमा एमाओवादी अघि बढ्न नसक्ने निष्कर्ष निकाल्दै एक भेलाको आयोजना गरेको छ ।
असन्तुष्ट उक्त समूहले शनिबार कालीमाटीस्थित एक कलेजमा भेला आयोजनाा गरेको थियो । भेलामा अमिक शेरचन, लीलामणि पोखरेल, आहुति, प्रकाश पोखरेल, अञ्जना बिसंखे, विद्यार्थी नेता जागृत रायमाझीलगायत दुई सयभन्दा बढीको सहभागिता थियो ।
केही समययता पार्टीमा भूमिकाविहीन बन्दै आएका शेरचनले नयाँ आन्दोलनका लागि भन्दै लामो समयदेखि पूर्व एकता केन्द्रका सदस्यलाई एकताबद्ध गर्ने प्रयास गरिरहेका बुझिएको छ । एमाओवादीमा आर्थिक अनियमितता छानबिन समितिमा समेत रहेका शेरचन आफ्नो प्रतिवेदन सार्वजनिक गर्न नपाउँदासमेत असन्तुष्ट बनेका थिए ।  
भेलाले ’समाजवादका लागि वैचारिक अभियान’ नाम दिएर पार्टी्भित्र र बाहिर छलफल चलाउने निर्णय गरेको भेलामा सहभागी एक नेताले बताए । 
पार्टी अध्यक्ष दाहालले माओवादी आन्दोलनलाई उठ्नै नसक्नेगरी पछि धकेलेको टिप्पणी अधिकांशले गरेका थिए । नेपालमा वामशक्तिको ठूलो संख्या भए पनि  वामपन्थी आन्दोलनको नेतृत्व गर्नसक्ने अवस्थामा माओवादी, एमालेलगायत कोही पनि नरहेको ठहरसहित यसका लागि नयाँ बहसको खाँचो औँल्याउँदै भेला गरेको एक नेताले बताए । 
भेलामा अधिकांशले दाहालसँग किन बस्ने र भट्टराईसँग वा श्रेष्ठसँग किन नबस्ने भन्दै प्रश्न उठाएका थिए । बाबुराम भट्टराईको नेतृत्वमा किन नबस्ने वा भट्टराईको नेतृत्वमा नारायणकाजी श्रेष्ठ, नेत्रविक्रम चन्दसहितको पार्टी निर्माण गर्नसक्ने विषयमा पनि छलफल चलाउने निर्णय भएको एक नेताले बताए । 
भेलामा एमाओवादीसँग सम्बन्धविच्छेद गरेर अघि बढ्नुपर्ने अधिकांशको धारणा थियो । यसका लागि तत्काल सम्बन्धविच्छेद नगरी छलफल गर्दै अघि बढ्ने कुरामा सहमति भएको थियो ।  लीलामणि पोखरेलले सकारात्मक छलफलको उठान भएको बताए । नेता आहुतिले एमाओवादी कम्युनिष्ट नरहेको बताउँदै यसले समाजवादको यात्रा अघि बढाउन नसक्ने स्पष्ट पारेका थिए ।

 

तपाईंको बिचार