Friday, October 18, 2019

सम्झौतापत्रमा हस्ताक्षरः अब १५ हजारमै मलेसिया जान पाइने

प्रकाशित मिति: 2018/10/29

काठमाडौं । नेपाल र मलेसिया सरकारबीच मलेसियामा काम गर्ने जाने नेपाली कामदारलाई दिइने सेवासुविधासहितको सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

सम्झौताको क्रममा मलेसियाका मानव स‌ंसाधनमन्त्री एम कुलासेगरानले मलेसिया आउनका लागि मलेसियाको रिंगेट करिब पाँच सय मात्र लाग्ने बताए । जसअनुसार मलेसिया जान कामदराले नेपालको बढीमा १५ हजार रुपैयाँ तिरे पुग्ने उनको भनाइ छ । उक्त खर्च स्वास्थ्य परिक्षण र सुरक्षा क्लियरेन्सको लागि कामदारले तिर्नु पर्ने उनले जानकारी दिए ।

सम्झौतापत्रमा नेपालबाट काम गर्न मलेसिया जाने कामदारको आतेजाते खर्च रोजगारदाता कम्पनीले व्यहोर्ने उल्लेख गरिएको छ । त्यस्तै नेपाली कामदारको काम गर्ने करार अवधि दुई वर्षको हुने व्यवस्था गरिएको छ ।

दुई राष्ट्रबीच कर्मचारीको तलब बैंकमा जम्मा गर्ने विषयमा पनि समझदारी भएको छ । कम्पनीले कामदारको तलब प्रत्येक महिनाको सात तारिखमा बैंकमा जम्मा गर्ने व्यवस्था मिलाएको छ ।

त्यस्तै मलेसियामा काम गर्न जाने नेपाली कामदारले त्यहाँको श्रम मापदण्ड अनुसार न्युनतम पारिश्रमिक पाउने व्यवस्था दुई राष्ट्रले मिलाएका छन् । कामदारको परिवारका कुनै सदस्य निधन भएमा उनीहरुलाई उचित बिदाको पनि व्यवस्था मिलाइएको छ । अब नेपाली कामदारको परिवारको कुनै सदस्यको निधन भएमा १५ दिन बिदा पाउनेछन् ।

महिला कामदारका लागि पनि विशेष व्यवस्था मिलाइएको छ । महिला हिंसा न्यूनिकरकण गर्न महिला कामदारका लागि विशेष सुरक्षाको व्यवस्था गरिएको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।

त्यस्तै मलेसियामा काम गर्ने कामदारले त्यहाँको सरकारले लागू गरेको बिमा सम्बन्धी मापदण्ड सम्पूर्ण कामदारमा लागू हुनेछ ।
नेपाली कामदारले नेपालमा गरेको स्वास्थ्य तथा सुरक्षा सम्बन्धीको सम्पूर्ण लागत रोजगारदाता कम्पनीले पहिलो महिनाको तलब निकासा गर्दा उपलब्ध गराउने व्यवस्था मिलाइएको छ ।

तपाईंको बिचार