Sunday, April 21, 2019

कांग्रेस जिल्ला सभापतिहरुको भेला ककनीमा हुँदै

प्रकाशित मिति: 2018/11/16

ककनी । नेपाली कांग्रेसले आगामी मंसिर १२ र १३ गते पर्यटकीय क्षेत्र ककनीमा नेपाली कांग्रेसको प्रस्तावित विधान मस्यौदा सम्बन्धि विशेष आन्तरिक छलफल गर्ने भएको छ ।  नेपाली कांगे्रस नुवाकोटका सभापति जगदिश्वरनरसिँह केसीको समन्वयमा आजबाटै देश भरिका कांग्रेस जिल्ला सभापतिहरुलाई पर्यटकीय क्षेत्र ककनीमा बोलाउने तयारी सुरु भइसकेको छ ।

दुई दिनसम्म चल्ने जिल्ला सभापतिहरुको  भेलामा पार्टीले गठन गरेको केन्द्रीय विधान संशोधन मस्यौदा समितिले तयार पारेको विधान मस्यौदामाथि छलफल हुने बताइएको छ । उक्त भेलाको समन्वय गरिरहेका कांग्रेस नुवाकोटका सभापति जगदिश्वरनरसिँह केसीले सो भेलाको तयारीका लागि ककनी गाउँ पालिकाका कांग्रेसीहरुसंग छलफल र तयारीको लागि भेटघाट गरेका छन् ।

सभापति केसीले ककनीमा हुन गइरहेको सभापतिहरुको भेलालाई कुनैपनि भेलाको रुपमा नबुझिदिन आग्रह गर्दै थपे, ‘‘यो कुनै गुट–उपगुटको छलफल होइन । हामी आफैले व्यवस्थापन गरेर सभापतिहरु आपसमा बसेर छलफल गरौं, विधानलाई थप परिमार्जनका लागि केन्द्रीय कार्यसमितिको बैठकमा सुझाव पेस गरौं भनेर आन्तिरिक मिटिङ बस्न लागेका हौं ।’’

देशभरका जिल्ला सभापतिहरु समग्र कांग्रेसको हित र कल्याणका लागि आन्तरिक छलफलमा जुट्न लागेको उनको भनाइ थियो । ‘‘यो कुनै समूहको बैठक होइन । हामीले नितान्त कांग्रेसको हित र कल्याणका निम्ति सभापतिहरुमात्रै बसेर विधानलाई अझै सुन्दर बनाउन, अझै राम्रोसँग परिमार्जित गर्न र समसामयिक परिस्थितिमा सभापतिहरुले दिएको सुझावलाई अझै राम्रोसँग अगाडि बढाउनका लागि छलफल गर्न लागेका हौं,’’ उनको भनाइ छ।

तपाईंको बिचार