Friday, April 19, 2019

कांग्रेस महासमिति सदस्यहरुद्वारा छुटाछुट्टै प्रस्ताव दर्ता

प्रकाशित मिति: 2018/12/18

काठमाडौं  । नेपाली कांग्रेसका १० भाइ युवा महासमिति सदस्यहरूले महासमिति बैठकमा छलफलका लागि भन्दै ६ पृष्ठ लामो प्रस्ताव सभापति शेरबहादुर देउवासमक्ष पेस गरेका छन्। प्रस्तावमा उनीहरूले संघीय, प्रदेश, जिल्ला र क्षेत्रीय स्तरमा संसदीय समिति गठन गर्नुपर्नेमा जोड दिएका छन्।

सबै सातवटा प्रदेश र विदेशस्थित जनसम्पर्क समितिका १० जनाले हस्ताक्षर गरेको प्रस्तावमा पार्टी विधानको परिचालन र सञ्चालन प्रक्रिया ठिक ढंगले नभएको, संसदीय बोर्ड गठन र टिकट वितरण प्रक्रियामा भएको त्रुटिका विषयमा समीक्षा गर्न माग गरिएको छ।

उनीहरूले पार्टीको आन्तरिक चुनाव महँगो हुँदै गएको र भ्रातृ संस्थाको महाधिवेशन निर्धारित समयमा नभएकोमा सभापति देउवाको ध्यानाकर्षण गराएका छन् । आरक्षण सुविधा एकपटक मात्र दिने व्यवस्था गर्न र पार्टीमा संकटकालीन अधिकार दुरुपयोग हुने सम्भावना रहेकाले त्यस विषयमा छलफल गर्न युवा नेताहरूले माग गरेका छन्।

पूर्वराज्यमन्त्री दीपक खड्का, पूर्वसभासद् राजीवविक्रम शाह, नेविसंघका पूर्वअध्यक्ष रञ्जित कर्ण, तरुण दलका पूर्वअध्यक्ष विनोद कायस्थ, प्रदेश सांसद भरतबहादुर खड्का, महासमिति सदस्यहरू रमेशकुमार महत, सुभाष पोखरेल, नमराज गुरुङ, निराजनसिंह सिजापति, उमेशजंग रायमाझी र जापानस्थित जनसम्पर्क समितिका चिरञ्जीवी थापाले हस्ताक्षर गरी सो प्रस्ताव सभापति देउवासमक्ष पेस गरेका हुन्।

प्रस्तावमा केन्द्रीय कार्य समितिदेखि तलका सबै पदाधिकारी र सदस्य चयन निर्वाचन प्रणालीबाट गर्न, केन्द्रीय सदस्य, सांसद र सांसदको उम्मेदवार क्षेत्रीय प्रतिनिधि हुने प्रावधान हटाउन तथा गत वर्ष भएको स्थानीय तह, प्रदेश र संसदीय निर्वाचनमा अन्य दलसँग गरेको गठबन्धनको समीक्षा गर्नुपर्ने माग गरेका छन्।

कांग्रेस नेता डा। रामशरण महतसँग निकट मानिएका ती महासमिति सदस्यहरूले विगतमा माओवादीसँग गठबन्धन गरी सरकारमा जानुको औचित्य पुष्टि गर्नुपर्ने, अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रमुखविरुद्ध आएको महाभियोग प्रस्ताव, नेपल प्रहरीका महानिरीक्षक नियुक्ति र प्रधानन्यायाधीश नियुक्तिका विषयमा पार्टीले लिएको गलत लाइनका विषयमा समीक्षा गर्नसमेत माग गरेका छन्।

उनीहरूले पार्टीमा अन्तरघात गर्ने, असहयोग गर्नेलाई पार्टी नेतृत्वले दण्ड र कारबाहीका सट्टा पुरस्कृत गर्दा इमानदार कार्यकर्ताको मनोबल गिरेकोमा ध्यानाकर्षण गराएका छन् । 

‘निर्वाचनमा पार्टीले भोगेको पराजयको नैतिक जिम्मेवारी नलिएर अमर्यादित र आचरणविपरीत क्रियाकलाप देखाइयो । पार्टीमा विगतमा कृष्णप्रसाद भट्टराईविरुद्ध काठमाडौंको उपनिर्वाचनमा भएको अन्तरघात, उहाँलाई प्रधानमन्त्रीबाट हटाउन सहमतिविपरीत दिइएको दबाब, सुशील कोइरालालाई प्रधानमन्त्रीमै छँदा पुन प्रधानमन्त्रीमा उम्मेदवार बनाउने उकास्नु गलत थियो’, भनिएको छ। 

पार्टीमा प्रभावशाली नेतासँग समदुरीको सम्वन्ध राखेका यी नेताहरूले विगतमा कांग्रेसको सिफारिसमा लाभको पद ग्रहण गरेकाहरूको खोजी र लेखाजोखा गरी उनीहरूको मूल्यांकन गरी विवरण सार्वजनिक गर्नुपर्ने र पार्टीको सिफारिसमा लाभको पदमा जानेबाट लेबी संकलन गर्नुपर्ने धारणा पनि अघि सारेका छन्। 

सो प्रस्ताव तयार गर्न युवा नेता क्षितिज भण्डारी, प्रदेश सांसद नरोत्तम वैद्य र महासमिति सदस्य विनिता अधिकारीको पनि सक्रियता थियो। ‘सम्पन्न नेपाली र समृद्ध नेपालका लागि सुदृढ कांग्रेस’ भन्ने मूल नारा दिइको सो प्रस्तावमा आर्थिक उन्नति र समृद्धिका आधार पनि प्रस्तुत गरिएको छ।

तपाईंको बिचार