Friday, October 18, 2019

नेताहरुबीच विधानमा सहमति नजुट्दा कांग्रेसको महासमिति बैठक तीन दिन लम्बियो

प्रकाशित मिति: 2018/12/19

काठमाडौं । शनिबारदेखि काठमाडौंमा जारी नेपाली कांग्रेसको महासमिति बैठक अझै तीन दिन लम्बिने भएको छ । विधानमा सहमति जुट्न बाँकी रहेकोले बैठक पर्सिसम्म जारी रहने कांग्रेसले जनाएको हो ।

सो बैठक बुधबारसम्म योगम्बर पार्टी प्यालेसमै र पर्सी पार्टी केन्द्रीय कार्यालय सानेपा सार्ने तय भएको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो । पूर्वनिर्धारित तालिका अनुसार महासमिति बैठक हिजो सकिनुपथ्र्यो । तर, नेताहरुबीच विधानमा सहमति नजुट्दा बैठक लम्बिएको हो ।

यसैबीच, लामो रस्साकस्सीपछि नेपाली कांग्रेसमा पदाधिकारी संख्या र निर्वाचन प्रक्रियाको विवाद मिलेको छ । सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष उप–सभापति, महामन्त्री र सह–महामन्त्री २–२ जना राख्न सहमत भएका हुन् । नौं पदाधिकारीमध्ये कोषाध्यक्ष र प्रवक्ता बाहेक सबै निर्वाचित हुनेछन् । जसअनुसार सभापति, उपसभापति, महामन्त्री र सह–महामन्त्री महाधिवेशनले नै निर्वाचित गर्नेछ ।

पदाधिकारी संख्यामा देउवा र निर्वाचन पद्दतीमा पौडेल पक्षको अडान सम्बोधन हुने गरी सहमति भएको हो । शीर्ष तहमा भएको सहमति केन्द्रीय कार्यसमितिले अनुमोदन गरेपछि विधान संशोधन प्रस्ताव महासमिति बैठकमा पेश गरिने छ । विधान संशोधनमा सहमति हुन नसक्दा महासमिति बैठकको बन्दसत्र समेत प्रभावित हुँदै आएको थियो ।

तपाईंको बिचार