Wednesday, October 23, 2019

प्रतिनिधि सभामा निर्वाचित रेशम चौधरीले आज सपथ लिदैं

प्रकाशित मिति: 2019/01/03

काठमाडौं । कैलाली निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभामा निर्वाचित रेशम चौधरीले बिहीबार सांसदको सपथ लिने भएका छन्।

प्रतिनिधि सभाका सचिव गोपालनाथ योगीका अनुसार बिहान साढे ११ बजे चौधरीको सिंहदरबारमा सपथ हुनेछ।

‘मैले पहिलेदेखि मेरो कार्यालयमा आउनुहुन्छ भने चौधरीलाई सपथ खुवाउँछु भनेको थिएँ, सरकारले उहाँलाई कार्यालयमा ल्याउँछ भने म सपथ खुवाउँछु,’ प्रतिनिधि सभाका सभामुख कृष्णबहादुर महराले भने, ‘निर्वाचन आयोगले उहाँले जितेको प्रमाणपत्र दिएको छ। उहाँमाथि लागेका मुद्दासँग सपथको कुनै सरोकार छैन।’

सपथका लागि चौधरीलाई प्रहरीले सिंहदरबार पुर्‍याउने छ भने सपथपछि फेरि कारागार लैजानेछ।

सपथ लिए पनि चौधरी संसद बैठकमा उपस्थित नहुने सचिव योगीले जानकारी दिए।

‘उहाँमाथि तीन वर्षभन्दा बढी कैद सजाय हुने नैतिक पतन देखिने फौजदारी मुद्दामा अभियोगपत्र दायर भएको छ,’ योगीले भने, ‘पुर्पक्षका लागि थुनामा रहेको अवस्थामा उहाँलाई सदस्यका हैसियतले कुनै कार्य गर्न वा कुनै अधिकार प्रयोग गर्ने उन्मुक्ति छैन।’

प्रतिनिधि सभा नियमावली अनुसार पारिश्रमिक र अन्य सेवासुविधा पनि पाउने छैनन्।

संविधान जारी हुनुअघि २०७२ भदौ ७ गते टीकापुरमा भएको हिंसामा परी ७ सुरक्षाकर्मीसहित ८ जनाको ज्यान गएको थियो।

सोही घटनामा संलग्न भएको भन्दै चौधरीविरूद्ध उजुरी परेको थियो। उनी फरार अवस्थामै चुनाव लडेका थिए।

निर्वाचित भए पनि उनको सपथ भएको थिएन। घटना भएको झण्डै ३० महिनापछि गत असार १४ गते चौधरीले कैलाली जिल्ला अदालतमा आत्मसमर्पण गरेका त्यसपछि उनलाई प्रहरीले जेल हालेको छ। चौधरी अहिले डिल्लीबजार कारागारमा छन्।

राष्ट्रिय जनता पार्टी नेपालले  चौधरीलाई सपथ खुवाउनु पर्ने माग पटक पटक गर्दै आएको थियो। पुस १० गते भएको राजपा नेताहरूसँगको वार्तामा प्रधानमन्त्री केपी शर्मा ओलीले माग पूरा गर्न ७ दिनको समय मागेका थिए।

पुस ११ गते सुरू भएको संसदको हिउँदे अधिवेशनमा बोल्दै  राजपा अध्यक्ष मण्डलका नेता राजेन्द्र महतोले चौधरीलाई छिटो सपथ खुवाउनु पर्ने माग गरेका थिए।

तपाईंको बिचार