Friday, April 19, 2019

अनसनरत डा. केसीलाई स्वास्थ्यमा समस्या आएपछि अस्पताल भर्ना

प्रकाशित मिति: 2019/01/14

इलाम । स्वास्थ्यमा समस्या आएपछि अनसनरत डा. गोविन्द केसी अस्पताल भर्ना भएका छन्। श्वासप्रश्वासमा समस्या तथा मुटुको गतिमा गडबडी आएपछि उनलाई सोमबार बिहान इलाम जिल्ला अस्पताल लगिएको हो।

डा. केसीको अभियन्ता देवराज भारद्वाजका अनुसार सहरी विकास भवनमा अनशनरत डा. केसीलाई एम्बुलेन्समा राखेर इलामको चोकबजारस्थित जिल्ला अस्पतालमा पुर्‍याइएको हो।

डा. केसीको दाहिने फोक्सोमा हावा कम भएर बेला–बेला मुटु तेज धड्किने तथा रोकिने भएकाले अस्पताल लगिएको चिकित्सक रामकृष्ण आचार्यले बताए । उनका अनुसार डा. केसीको छात्तीमा संक्रमण भएको तथा टन्सिलले घाँटी सुन्निएको छ ।

आइतबार नै गरिएको परीक्षणमा डा.केसीको मुटुको गति अनियमित भइ अस्पताल लैजानुपर्ने अवस्था आएपनि उनी अस्पताल जान मानेका थिएनन् । संसदको शिक्षा तथा स्वास्थ्य समितिले चिकित्सा शिक्षा विधेयकसम्बन्धी प्रतिवेदन गत बुधबार बहुमतले पारित गरेपछि त्यही दिन अपराह्नदेखि उनी १६औं अनशनमा बसेका हुन्।

डा. केसीले १६ राखेका ६ बुँदे मागहरु

१. १५ औं सत्याग्रहका क्रममा २०७५ साउन १० गते नेपाल सरकारसँग भएको सम्झौता बमोजिम अक्षरशः संशोधन गरेर अविलम्ब चिकित्सा शिक्षा विधेयक संसदबाट पारित गरियोस् ।

२. गौरी बहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदनले दोषि ठहर गरेका त्रि.वि. पदाधिकारी लगायतका व्यक्तिहरुलाई तत्काल सिफारिश बमोजिम बर्खास्ती लगायतका कारवाही गरियोस् ।  त्रिवि पदाधिकारीहरुद्वारा चिकित्सा शिक्षा अध्ययन संस्थानका खोसिएका अधिकारहरु पुनः सो संस्थान मै फिर्ता गरियोस् । कृषि तथा वन विश्वविद्यालयमा सम्बन्धन रोक्ने मन्त्री परिषदको निर्णयका बाबजुद चोर बाटोबाट दिन लागिएको सम्बन्धन तत्काल रोक्दै दोषी पदाधिकारीहरुलाई कारवाही गरियोस् ।

३. सातै प्रदेशमा सरकारी मेडिकल कलेज खोल्ने काम द्रुत गतिमा अघि बढाइयोस् । साथै पूर्वी पहाडका ताप्लेजुंग, इलाम ,पाँचथर,तेह्रथुम  लगायतका जिल्लाका नागरिकलाई सहज स्वास्थ्य सेवा तथा मेडिकल शिक्षाका लागि लागि इलाममास सोलुखुम्बु, ओखलढुंगा, खोटांग, भोजपुर, उदयपुर, सिराहा र सप्तरी लगायतका जिल्ला समेटेर उदयपुरमास सुदुर पश्चिमका पहाडका डडेल्धुरा, डोटी, बैतडी, बझांग, अछाम, दार्चुला लगायतका जिल्ला समेटेर डोटी वा डडेल्धुरामा अबिलम्ब सरकारी मेडिकल कलेज तथा अस्पताल खोलियोस् ।  कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अविलम्ब एमबीबीएस भर्ना शुरु गर्ने व्यवस्था गरियोस् ।

४. निर्मला पन्तको बलत्कार र हत्यामा संलग्न व्यक्तिहरुलाई तत्काल पक्राउ गरी मुद्दा चलाइयोस् । साथै, प्रमाण लोप गर्ने, झुठा प्रमाण बनाउने, यातना दिने, न्याय माग्न चलेको आन्दोलनमा गोली चलाई हत्या, अंगभंग गर्ने व्यक्तिहरु माथि तत्काल फौजदारी मुद्दा चलाइयोस् ।

५. द्वन्द्वकालका जघन्य तथा मानवताविरोधी अपराधका दोषीहरुलाई अन्तर्राििष्ट्रय कानुन अनुसार दण्डित गरियोस् । द्वन्द्वपीडितहरुको माग सुनुवाइ गर्दै संक्रमणकालीन न्याय शीघ्र टुंगोमा पुर्याइयोस् ।

६. नेपाल सरकारको निर्णयको उल्लंघन गरी काठमाडौं विश्वविद्यालयले तोकेको शुल्क तत्काल फिर्ता लिई दोषी पदाधिकारी माथि कारवाही गरियोस् ।
 

तपाईंको बिचार