Friday, September 22, 2017

संघीय समाजवादी फोरमद्धारा राष्ट्रसंघ महासचिवलाई चिट्ठी

प्रकाशित मिति: 2015/09/09

आफूहरुको आन्दोलनलाई निस्तेज पार्न राज्यले मानवअधिकार हनन् गर्ने काम गरेको आरोप लगाउँदै आन्दोलनरत संघीय समाजवादी फोरम नेपालले संयुक्त राष्ट्र संघका महासचिव बान कि मुनलाई पत्र लेखेको छ । पत्र राष्ट्रसंघका नेपालस्थित आवासीय संयोजक जेमी म्याकगोल्ड्रिकमार्फत् मुनलाई पठाइएको पत्र बताईएको छ । 
पार्टीका सहअध्यक्ष राजेन्द्रप्रसाद श्रेष्ठले लेखेको पत्रमा सरकारले राजनीतिक मागहरु पूरा गर्नुको साटो सेना, प्रहरी, सशस्त्र प्रहरी परिचालन गरी आन्दोलनमा दमन गरेको, सर्वसाधारणका घर, अस्पतालमा सशस्त्र फौज पसेर यातना दिएको र हत्या गरेको आरोप लगाइएको छ । विभिन्न चार माग उल्लेख गरी पत्र पठाईएको छ । 
पत्रमा शान्तिपूर्ण प्रदर्शन गर्न दिन सेना र सशस्त्र प्रहरी परिचालन फिर्ता गर्नुपर्ने, विभिन्न मोर्चा, समूहसित पहिले गरिएका सहमति र समझदारीहरु लागू गर्नुपर्ने र अघिल्ला आन्दोलनहरुको भावनालाई सम्मान गर्नुपर्ने, आन्दोलनका क्रममा मारिएकाहरुलाई सहिद घोषणा गरी परिवारलाई क्षतिपूर्ति दिनुपर्ने, घाइतेलाई उपचार र क्षतिपूर्ति दिनुपर्ने र संसदको राज्य पुनर्संरचना समिति र उच्चस्तरीय राज्य पुनर्संरचना आयोगको प्रतिवेदनका आधारमा पहिले नै सहमति भइसकेका सिद्धान्तको आधारमा संघीय संरचना गठन गर्नुपर्ने कुराहरु समेटीएका छन् । 

 

 

 

तपाईंको बिचार