Monday, October 23, 2017

भारतीय राजदूत रेको अभिव्यक्तिप्रति आन्दोलनकारीको आपत्ति

प्रकाशित मिति: 2015/09/13

भारतीय राजदूत रन्जित रेले शीर्ष नेताहरूलाई भेटेर कैलाली टुक्र्याउन प्रस्ताव गरेको भन्दै अखण्ड सुदूरपश्चिम पक्षधरले आपत्ति जनाएका छन् । अखण्ड सुदूरपश्चिम जनआन्दोलन परिचालन समितिले राजदूत रेले कूटनीतिक मर्यादा नाघी कैलालीको क्षेत्र नं १, २, ३ र ४ टुक्रयाउन प्रस्ताव गरेको भन्दै यसले नेपाल र नेपालीको स्वाभिमानमा ठेस पुगेको भन्दै रेको अभिव्यक्तिमाथी भत्सना गरेको छ ।

समितीले राजदूत रेले शीर्ष नेताहरूलाई भेटेर दिएको अभिव्यक्ति सार्वभौमसत्तासम्पन्न जनताको विरुद्ध रहेको ठहर गर्दे त्यस्ता अभिव्यक्ति नदोहो¥याउन आग्रह गरेको छ । समितिले विज्ञप्ति जारी गरेर नेपालीहरू आफ्नो संविधान आफैं बनाउन सक्षम रहेको तथा कति प्रदेश बनाउने, कुन ठाउँ कुन प्रदेशमा राख्ने नेपालीको आन्तरिक मामिला भएको भन्दै आफ्नो मर्यादामा रहन  राजदूत रेलाई अनुरोध गरेको छ । 
अखण्ड सुदूरपश्चिमको आन्दोलन नरोकिएको उल्लेख गर्दै विज्ञप्तिमा जनताको भावनाविपरीत कुनै निर्णय भए आन्दोलनको आँधीबेहरी ल्याउने चेतावनी दिइएको छ । समितिले संविधान जारी गर्न नदिने षड्यन्त्रअन्तर्गत विदेशी शक्तिले सुदूरपश्चिम टुक्रयाउने खेल थालेको आरोप लगाएको छ । 

तपाईंको बिचार