Tuesday, February 19, 2019

मोरङको उर्लाबारी नगरपालिकाको स्थानीय राजपत्र सार्वजनिक

प्रकाशित मिति: 2019/02/10

उर्लाबारी । प्रतिनिधिसभाका उपसभामुख शिवमाया तुम्वाहाङ्फेले संविधानलाई पूर्ण कार्यान्वयन गर्न तीनवटै सरकारबीच समन्वय हुनुपर्नेमा जोड दिएकी छन् ।

मोरङको उर्लाबारी नगरपालिकामा आइतबार स्थानीय राजपत्र सार्वजनिक गर्दै उनले संघ, प्रदेश र स्थानीय सरकारबीच समन्वय हुन सकेन भने समस्या सिर्जना हुने बताईन्। उनले जनतालाई सरकारको अनुभूति दिन पनि तीनवटै सरकार मिलेर अघि बढ्नुको विकल्प नरहेको धारणा राखिन्।

उनले स्थानीय तहमा प्रमुख, उपप्रमुख, वडाध्यक्ष र वडासदस्यबीच पनि समन्वय र सल्लाह हुनुपर्ने बताईन्। उनले विकास निर्माणका विषयमा तीनवटै सरकारका जनप्रतिनिधिबीच समन्वय र सल्लाह भएमा मात्र विकासले सही गति लिने विचार राखिन्।

उपसभामुख तुम्वाहाङ्फेले प्रतिनिधिसभाको तेस्रो अधिवेशन विधेयक अधिवेशनका रुपमा लिँदै अहिले धमाधम विधेयकमाथि छलफल भइरहेको बताईन्। नगरपालिकाले २९ वटा ऐन, नियमावली र कार्यविधिलाई समेटेर स्थानीय राजपत्र सार्वजनिक गरेको नगर प्रमुख खड्गबहादुर फागोले बताए।

तपाईंको बिचार