Sunday, February 24, 2019

दक्षिण एसियाली रोजगारदाता मञ्चको आठौँ बैठक सुरु

प्रकाशित मिति: 2019/02/12

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको रोजगारदाता परिषद्का अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा लगानी गर्न सार्क देशका रोजगारदाता एवम् लगानीकर्ताहरुलाई आग्रह गरेका छन्।

दक्षिण एसियाली रोजगारदाता मञ्चको नयाँ दिल्लीमा शुरु भएको आठौँ बैठकलाई सम्बोधन गर्दै उनले नेपालमा श्रम तथा सामाजिक सुरक्षासम्बन्धी उपयुक्त कानुनहरु निर्माण भएका, यसका कारण रोजगारदाता र श्रमिकबीचको सम्बन्ध राम्रो भएको तथा हाल मुलुकले राजनीतिक स्थायित्व पनि प्राप्त गरेकोले लगानीको वातावरण बनेको बताए।

नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष रहेका ढकालले नेपालमा लामो राजनीतिक संक्रमणपछि स्थीर सरकार बनेको र लगानीमैत्री वातावरण निर्माण हुने अपेक्षा गरिएकोले नेपालका कृषि, पर्यटन, उर्जा, सेवा क्षेत्र लगायतका क्षेत्रमा लगानीका लागि विदेशी लगानीकर्ताहरुलाई आग्रह गरे।

नेपाल सरकारले आगामी महिना लगानी सम्मेलनको आयोजना गरेको र नेपालमा लगानीका थूप्रै सम्भावनाहरु रहेको स्मरण गराउँदै उनले सो सम्मेलनमा सहभागी भई नेपालमा तिनको अध्ययन र पहिचान गर्न सार्क क्षेत्रका लगानीकर्ताहरुलाई आमन्त्रण गरे। रासस

तपाईंको बिचार