Thursday, March 21, 2019

प्रधानमन्त्री ओलीले आज रोजगार कार्यक्रमको औपचारिक घोषणा गर्ने

प्रकाशित मिति: 2019/02/13

काठमाडौं । सरकारले देश भित्रै विभिन्न अवसरको सिर्जना गर्ने उद्देश्यसहित आज प्रधानमन्त्री रोजगार कार्यक्रमको घोषणा गर्ने भएको छ।

हबाध्यताले वैदेशिक रोजगारीमा जानुपर्ने अवस्थाको  पाँच वर्ष भित्र अन्त्य गर्ने घोषणा गरेको सरकारले महत्वकांक्षी प्रधानमन्त्री रोजगार कार्यक्रम ल्याउन लागेको हो।

यसलाई कार्यान्वयनका लागि हरेक स्थानीय तहमा रहने रोजगार सेवा केन्द्रमा रोजगार संयोजकको भर्ना प्रक्रिया चलिरहेको छ।  प्रधानमन्त्री रोजगार कार्यक्रमका प्रमुख श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव प्रकाश दाहालका अनुसार फागुन २० गतेसम्ममा रोजगार संयोजक नियुक्त गरिसकिने भएको छ।

आज दिउँसो १२ बजे प्रधानमन्त्री केपी शर्मा ओलीले  प्रधानमन्त्री रोजगार कार्यक्रमको औपचारिक घोषणा गर्ने भएका छन्।

‘हाम्रो भविष्य, हाम्रो सरकार’ नारा दिएर सरकारले बेरोजगारी सरकारको मुख्य चुनौती रहेको र यसविरुद्धको एक ऐतिहासिक घोषणा प्रधानमन्त्री रोजगार कार्यक्रम रहेको जनाएको छ।

कार्यक्रम कार्यान्वयनका लागि ऐन नियमहरु तयार भइसकेको अब कार्यान्वयन गर्न समस्या नभएको श्रम मन्त्री गोकर्ण बिष्टले यसअघि नै बताइसकेका छन्। उनले यो कार्यक्रमबाट बेरोजगारी समस्या हल गर्न कोशेढुंगा साबित हुने दाबी गरेका छन्।

सरकारको उद्देश्य बेरोजगार भत्ता दिनु नभएर रोजगारी दिनु भएकाले सकेसम्म सबैलाई रोजगारी दिने गरी अगाडि बढ्ने जनाइएको छ। प्रधानमन्त्री रोजगार कार्यक्रमले काम खोज्ने र कामदार खोज्नलाई सूचिकृत गराउने छ ।

मन्त्री गोकर्ण विष्टले  बेरोजगार भएका व्यक्तिलाई सय दिनबराबरको रोजगारी सरकारले दिने र सो कार्यक्रममार्फत पनि समावेश नभएका व्यक्तिहरुलाई सोही दिनबराबर ज्यालाको ५० प्रतिशत रकम बैंकमार्फत भुक्तानी गर्ने तयारीमा रहेको जानकारी दिएका थिए।

निर्वाह भत्ताको हकमा भने परिवारका कुनै पनि सदस्यले न्यूनतम रोजगारी नपाएको, सरकारले तोकेभन्दा कम वार्षिक आय भएको परिवार भएको, परिवारको कुनै सदस्य स्वरोजगार नभएको तथा वैदेशिक रोजगारीमा नभएको, सरकारी तथा कुनै पनि संस्थाबाट निवृत्तिभरण वा अवकाशसम्बन्धी सुविधा नलिएको भएमा रकम प्रदान गरिने उल्लेख छ ।

पाँच वर्षभित्र कुनै पनि युवा बाध्यताबाहेक वैदेशिक रोजगारीमा जान नपरोस् भन्ने उद्देश्यका साथ कार्यक्रम सार्वजनिक गरिएको बताउँदै मन्त्री विष्टले श्रम गर्नेहरुको सम्मानका खातिर मन्त्रालय लागि पर्ने प्रतिबद्धता जनाएका छन् । नेपालमा श्रम गर्नेहरुको सम्मान हुन नसकेकै कारण धेरै युवाहरु विदेसिएको बताउँदै अब त्यस्तो अवस्था सिर्जना हुन नदिने मन्त्री विष्टको भनाइ छ ।

श्रम बजारमा शारीरिक मात्र नभई बौद्धिक श्रम पनि बिकाउने तयारीका साथ मन्त्रालय लागिपरको जनाइएको छ। उनले आईटी क्षेत्रको सम्भावना र चुनौतीको विषयमा अध्ययन गरिरहेकाले त्यस्ता व्यक्तिहरु र समूहलाई एकृकीत गरी लैजाने तयारी मन्त्रायको रहेको बताएका छन् ।

तपाईंको बिचार