Thursday, October 19, 2017

असोज ३ गते संविधान जारी हुने

प्रकाशित मिति: 2015/09/15

आगामी आईतबार देशले नयाँ संविधान पाउने भएको छ । असोज ३ गते साँझ ५ बजे संविधानसभामा हुने एक समारोहमार्फत् राष्ट्रपति डा. रामवरण यादवले नयाँ संविधान जारी गर्ने कार्यक्रम संविधानसभा सचिवालयले तयार पारेको  छ । नयाँ संविधान जारी भएकै दिनदेखि लागू गर्ने सहमती भएको छ ।
नयाँ संविधानमा उल्लेख भए अनुसार संविधान जारी भएको एक सातासम्म अर्थात असोज १० गते भित्र राजनीतिक सहमतीको आधारमा नयाँ प्रधानमन्त्रीको निर्वाचन हुनुपर्नेछ ।
संविधानको परिमार्जित विधेयकको धारा २९२ को अनुसार प्रधानमन्त्रीको निर्वाचन सम्पन्न गरी निजको अध्यक्षतामा मन्त्रिपरिषद् गठन हुने उल्लेख छ ।
राजनीतिक सहमति कायम हुन नसके संसदको तत्काल कायम रहेका सम्पूर्ण सदस्य संख्याको बहुमतको आधारमा प्रधानमन्त्री निर्वाचित हुने व्यवस्था धारा २९२ को उपधारा २ मा उल्लेख गरिएको छ । राजनीतिक सहमति नभएमा कहिलेसम्म बहुमतीय प्रधानमन्त्री निर्वाचित गर्ने भन्ने बारे म्याद संविधानमा तोकिएको छैन ।
नयाँ संविधान लागू भइसकेपछिको कात्तिक ३ गतेभित्र राजनीतिक सहमतिका आधारमा नयाँ राष्ट्रपति र उपराष्ट्रपति निर्वाचित गर्नुपर्ने व्यवस्था संविधानमा उल्लेख गरिएको छ । राजनीतिक सहमति हुन नसके बहुमतका आधारमा नयाँ राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन हुनेछ । त्यसैगरी नयाँ संविधान लागू भइसकेपछि २० दिनभित्र नयाँ सभामुख र उपसभामुखको निर्वाचन गर्नुपर्ने व्यवस्था छ । नयाँ राष्ट्रपति र उपराष्ट्रपतिको पदावधि नयाँ संविधान अनुसारको केन्द्रीय संसद र प्रादेशिक संसदको निर्वाचन भएर त्यस अनुसार निर्वाचन मण्डलबाट अर्को राष्ट्रपति वा उपराष्ट्रपतिबाट निर्वाचित भई कार्यभार नसम्हालेसम्म कायम रहनेछ । नयाँ प्रधानमन्त्रीको कार्यकाल नयाँ संविधान अनुसार नयाँ निर्वाचन भएर त्यस अनुसार नयाँ प्रधानमन्त्री निर्वाचित नभएसम्म हुनेछ ।

तपाईंको बिचार