Thursday, May 23, 2019

नेवि संघको प्रदर्शन जारी

प्रकाशित मिति: 2019/02/26

काठमाडौँ । नेपाल विद्यार्थी संघका नेता कार्यकर्ताहरुले कांग्रेस पार्टी कार्यालयबाहिर आज पनि प्रदर्शन जारी राखेका छन् । मंगलबार असन्तुष्ट विद्यार्थी नेता तथा कार्यकर्ताहरुले नेविसंघको तदर्थ समिति गठन गर्दा ३२ वर्षमूनिको उमेर सूमहबाटै चयन गर्नुपर्ने र गुटबन्दीको अन्त्य गर्न विधी पद्धतिको लागु हुनुपर्ने भन्दै नाराबाजीसहित प्रदर्शन गरेका हुन्।

नेविसंघका निवर्तमान केन्द्रीय सदस्य रत्नहरि ढुंगेलले पार्टी नेतृत्वलाई ३२ वर्षे उमेरहद कायम गर्नका लागि दबाब दिन धर्ना गरिएको बताउनुभयो । ‘हामीले नेविसंघको तदर्थ समिति गठन गर्दा ३२ वर्षभन्दा माथिको नेतृत्व आउन हुन्न भनिरहेका छौं । हामीले नेताहरुलाई भेटेर ध्यानाकर्षण गराइरहेका छौं, हाम्रो पार्टी लोकतान्त्रिक सँस्कार र चरीत्र बोकेको पार्टी हो तर हामी पार्टी सभापतिको मनोपोलिका प्रति आपत्ती प्रकट गर्दछौं,ढुंगेलले बताउनुभयो । सभापतिले वैचारिक मतभेदलाई पनि शत्रुवत व्यवहार गर्दै हुनुहुन्छ पार्टी केन्द्रिय समितीमा पनि यस्तै देखिएको छ ढुंगेलले भन्नुभयो ।

ढुंगेलले नेविसंघको विधानमा इकाई अध्यक्ष र स्ववियु सभापति केन्द्रीय प्रतिनिधि रहने प्रावधान राख्नेबारे पनि पार्टी नेतृत्वलाई अनुरोध गरिरहेको बताउनु भयो । नेविसंघ दुई पक्षबीच आइतबार भएको झडपका दोषीलाई कारबाही गर्न धर्नाकारीले माग गरेका छन् । धर्नामा निवर्तमान केन्द्रिय समितिका सदस्य एवं पदाधिकारी लगायतका नेता कार्यकर्ताहरुको उपस्थिति थियो ।

कांग्रेसले आफ्नो भातृ संगठन नेविसंघको नयाँ नेतृत्व ल्याउने विषयमा गहन छलफल गरिरहेको बताइएको छ। यसअघि आइतबार सानेपामा नेविसंघकै दुई पक्षले विरोध प्रदर्शन गर्दा एक आपसमा झडप भएको थियो। विद्यार्थीको प्रदर्शनलाई मध्यनजर गर्दै पार्टी कार्यालय सानेपाबाहिर सुरक्षा व्यवस्था कडा पारिएको छ।

तपाईंको बिचार