Thursday, November 21, 2019

टुँडिखेलमा श्रद्धाञ्जली कार्यक्रम

प्रकाशित मिति: 2019/03/01

काठमाडौं । हेलिकोप्टर दुर्घटनामा परी निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहित सातै जनाको पार्थिव शरीर टुँडिखेलमा राखिएको छ । अन्तिम श्रद्धाञ्जलीका लागि सबैको शव एकै ठाउँ राखिएको हो ।

दिवंगत मन्त्री अधिकारीसहित नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्र श्रेष्ठलगायतमाथि विशिष्ट व्यक्तिहरुको उपस्थितिमा सामूहिक श्रद्धाञ्जली अर्पण गरिएको छ ।

प्रधानमन्त्री केपी शार्मा ओलीले सातैजनालाई राष्ट्रिय झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गर्नुभएको छ । यसैगरी राष्ट्रपति विद्या देवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुनले समेत सातैजनाको पार्थिव शरीरमाथि फुलमाला चढाएर श्रद्धाञ्जली अर्पण गर्नुभयो ।

नेकपाका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दिवंगत मन्त्री एवं नेकपाका सांसद एव‌ं केन्द्रीय सदस्यसमेत रहनुभएका मन्त्री अधिकारीको पार्थिव शरीरमा पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जी अर्पण गर्नुभएको छ । साथै मन्त्री अधिकारीलगायत सातै जनाको पार्थिव शरीरमा प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा एवं मन्त्रीहरुले श्रद्धाञ्जलि अर्पण गर्नुभयो ।

सो श्रद्धाञ्जली समारोहमा पूर्व प्रधानमन्त्री तथा नेकपा नेता माधवकुमार नेपाल, पूर्व सभामुख सुवास नेम्वाङ, नेकपाका महासचिव विष्णु पौडेल, नेकपा नेता घनस्याम भुसाल, प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेललगायत नेता, कार्यकर्ता, शुभचिन्तक लगायत विशिष्ट व्यक्तिहरु उपस्थित भई श्रद्धाञ्जली अर्पण गरेका छन् ।

 

तपाईंको बिचार