Thursday, October 19, 2017

मोदीका विशेष दूत शुक्रबार नेपाल आउँदै

प्रकाशित मिति: 2015/09/18

लामो समयको अन्तरालपछि संविधान जारी गर्ने तयारी भइरहेको बेला भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका विशेष दूत विदेशसचिव एस जयशंकर शुक्रबार नेपाल आउने लागेका छन् । 
तराईमा आन्दोलरत् पक्षको माग सम्बोधन गरेरमात्र संविधान जारी गर्ने सुझाव विदेशमन्त्रीको तहबाट सार्वजनिक गरिसकेकोले सोको चासोलगायत अन्य परिस्थिति बुझ्न भारतले प्रधानमन्त्रीकै विशेष दूत पठाउन लागेको बुझिएको छ । 
शुक्रबार नै एस जयशंकरले राष्ट्रपति डा. रामवरण यादव, प्रधानमन्त्री सुशील कोइराला र सेनाप्रमुख राजेन्द्र क्षेत्रीलाई अलगअलग भेट्ने कार्यक्रम छ । उनले भारतीय दूतावासले छानेका केही मधेसी नेताहरूसँग सामूहिक भेटघाट गर्नुका साथै संविधान जारी भएपछिका लागि प्रधानमन्त्री पदका दाबेदार केपी ओली र एमाओवादी अध्यक्ष पुष्पकमल दाहाललाई पनि भेट्नेछन् । 
बिहीबार बिहानमात्र तय गरिएको उनको भ्रमणको जानकारी भारतीय विदेश मन्त्रालयका प्रवक्ता विकास स्वरूपले ट्विटमार्फत दिएका थिए । बिहीबार विशेष ब्रिफिङका लागि दिल्ली बोलाइएका भारतीय राजदूत रञ्जित रे पनि विदेशसचिवसँगै काठमाडौं आउँदैछन् ।  
केही दिनअघिमात्र राजदूत रेले प्रधानमन्त्री, एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल र एमाले अध्यक्ष ओलीलगायतलाई संविधानसभा प्रक्रिया रोक्ने आग्रह गरेका थिए । तर त्यो सुझावलाई अस्वीकार गरी संविधानसभाले मतदान र संविधान पारित गरेपछि रेलाई दिल्ली ब्रिफिङका लागि बोलाइएको र जयशंकरलाई प्रधानमन्त्री मोदीका विशेष दूत बनाई काठमाडौं पठाउने निर्णय गरिएको हो ।

 

तपाईंको बिचार