Friday, March 24, 2017  |    

राजविराजमा मोर्चाको बृहत् बैठक

प्रकाशित मिति: 2015/09/22

सप्तरी / प्रमुख राजनीतिक दलहरूबाट मधेसको माग विषयमा सम्बोधन हुने वातावरण तयार नभएको भन्दै मधेस केन्द्रित दलदहरू छलफलमा जुटेका छन्। मधेस आन्दोलनलाई कसरी अगाडि बढाउने भन्ने रणनीति तयार गर्न मधेस केन्द्रित दल छलफलमा जुटेका हुन्। सप्तरीको राजविराजमा मधेसकेन्द्रित दलहरूबीच मंगलबा बृहत् छलफल हुने भएको छ। छलफलका लागि तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर, उपाध्यक्ष हृदयेश त्रिपाठी विराटनगर आइपुगेका छन्। उनीहरू केहीबेरमा विराटनगरबाट राजविराज जाँदैछन्। 

 
संघीय समाजवादी फोरम अध्यक्ष उपेन्द्र यादव राजविराज पुगिसकेका छन्। भारत रहेका सद्भावना पार्टी अध्यक्ष राजेन्द्र महतो रक्सौल हुँदै राजविराज पुग्ने कार्यक्रम रहेको सुरक्षा स्रोतले जनाएको छ। बैठकमा समान विचार मिल्ने दल तथा अहिले तराईमा आन्दोलनरत मधेस केन्द्रित पार्टीहरू सहभागी हुँदैछन्। मोहन वैद्य नेतृत्वको नेकपा–माओवादी पनि बैठकमा सहभागी हुँदैछ। तमलोपा अध्यक्ष महन्थ ठाकुरका अनुसार बैठकले छुट्टै नयाँ मोर्चासम्म बनाउन सक्ने सम्भावना पनि रहेको बताए। 
 
 अस्तिको अन्तिम बैठकमा समान विचार र धारणा भएका दल कसरी एकठाउँमा हुने भन्ने विषयमा छलफल भएको थियो । विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै ठाकुरले भने समान विचार र कार्यक्रममा भाग लिइरहेका पार्टीहरूसँग मोर्चा कुन रुपमा जाने वा मोर्चैमा सामेल हुने हो भन्ने विषयमा कुरा हुन्छ।ु
 
 ठाकुरले प्रमुख राजनीतिक दलहरूले मधेसमा चलिरहेको आन्दोलन र त्यहाँको माग विषयमा सम्बोधन गर्ने ठोस कुरा नल्याएकाले अब वार्ता हुन कठिन रहेको बताए। उनले प्रधानमन्त्रीसँग मंगलबार अनौपचारिक कुरा भएको तर कुनै ठोस निष्कर्ष ननिस्किएको बताए। 
 
  के–के विषय सम्बोधन गर्नसकिने भनेर आउनुपर्नेमा त्यो नभएकाले वार्ता हुन कठिनाइ भएको ठाकुरले बताए। उहाँहरूबीच आफ्नै कठिनाइ छ। तीन दलभित्रै कठिनाइ छ। सीमाङ्कन विषय, समानुपातिक, समावेशी, नागरिकता लगायत विषयमा ठोस कुरा नआएसम्म समस्या समाधान हुँदैन ठाकुरले भने।  
 

तपाईंको बिचार