Monday, May 1, 2017  |    

नेपालको सबैभन्दा ठूलो कभर्ड हलमा चार हजार पाँच सय दर्शक अट्ने

प्रकाशित मिति: 2017/03/21

चैत्र ८, पोखरा । देशकै सबभन्दा ठूलो ३५ हजार वर्गफिट रहेको कभर्ड हल दुई बर्षे योजनासहित २०७०/७१ मा निर्माण कार्य थालिएको हो । उक्त बहुउद्देश्यीय कभर्ड हल निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।

२०७४ असार मसान्तभित्रै निर्माण पूरा गर्ने भने अझै निश्चित छैन । त्यसअनुसार २०७३ असारमा निर्माण पूरा हुनुपर्ने थियो । तर, ठेकेदार कम्पनी डाँफे मुन्ना एन्ड आचार्य प्रतिष्ठा प्रालिले २०७२ वैशाखको महाभूकम्प र त्यसपछि भएको नाकाबन्दीको असर परेको भन्दै निर्माण अवधि लम्ब्याएको थियो ।

पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका अनुसार छाना हाल्ने, सिट राख्ने, पार्केटिङ र रंगरोगन गर्ने तथा झ्याल–ढोका राख्नेलगायत अन्तिम चरणको काम बाँकी छ । ‘अहिले ठेकेदार कम्पनीले दैनिक ८–१० मजदूरलाई मात्र निर्माण कार्यमा खटाइरहेका छन् । त्यसैले २०७३÷७४ मा पनि कभर्ड हल पूरा हुन मुश्किल भएको छ । 

१३ औं दक्षिण एसियाली खेलकुद (साग) नेपालले सन् २०१९ मार्चमा आयोजना गर्ने निर्णय भइसकेको छ । त्यसैको लागि पूर्वाधार निर्माणअन्तर्गत चार हजार ५ सय दर्शक क्षमताको पोखरा बहुउद्देश्यीय कभर्ड हलको काम अघि बढेको हो । यसको कुल लागत १४ करोड ३० लाख रुपैयाँ रहेको छ ।

यसको निर्माण पूरा भएपछि खेलकुदको अन्तर्राष्ट्रिय प्रतियोगिता पोखरामा आयोजना गर्न सकिन्छ । त्यसले खेल पर्यटन विकासमा ठूलो फाइदा पुर्‍याउनेछ । कराते, तेक्वान्दो, बक्सिङ, भलिबल, बास्केटबल, ह्यान्डबललगायत इन्डोर खेलका प्रशिक्षण र प्रतियोगिता सञ्चालन गर्नका लागि कभर्ड हल बनाइन्छ ।

तपाईंको बिचार