Wednesday, December 11, 2019

चन्द्रमाको सतहमा मानव मलमूत्रदेखि गल्फ बलसम्म

प्रकाशित मिति: 2019/07/24

सन् १९५९ मा सोभियत युनियनको अन्तरिक्षयानले चन्द्रमाको सतहमा दुर्घटनापूर्ण अवतरण गराएदेखि नै त्यहाँ सबै किसिमका फोहोर जम्मा भइसकेको थियो । यससँगै अपोलोको पहिलो सफल चन्द्रमा मिसनमा पनि अन्तरिक्षयात्रीहरुले मानव मलमूत्रदेखि प्राविधिक उपकरण र गल्फ बल समेत चन्द्रमामा छाडेका हुन् । तर त्यसो गर्नुका पछाडि वैज्ञानिक कारण पनि रहेको बताइएको छ । 

यसरी सफल अवतरणपछि अपोलो मिसनका अन्तरिक्षयात्रीहरुमा चन्द्रमाबाट सकेसम्म धेरै ढुङ्गाहरु पृथ्वीमा ल्याउने जिम्मेवारी थियो । तर यसका लागि ती ढुङ्गाहरुको तौल सन्तुलनमा ल्याउन उनीहरुले केही अनावश्यक कुरा त्यहीँ छाड्ने निर्णय गरे । जसपछि उनीहरुले १२ वटा क्यामरा, १२ जोडी बुट, एउटा टेलिस्कोप, दुईवटा गल्फ बल लगायतका उपकरण चन्द्रमाको सतहमै बिसाएका हुन् । यति मात्र नभएर त्यससँगै मानव मलमुत्र र बान्ताले भरिएका ९६ वटा ब्यागहरु पनि चन्द्रमामा छाडिएको थियो ।  

तरपनि ती मानव मलमूत्रले चन्द्रमाको वातावरणमा कुनै दिर्गकालीन असर नगर्ने बीबीसीको साइन्स फोकस म्यागजिनका लागि रहेको एउटा लेखमा एस्ट्रोफिजिक्स प्रोफेसर एल्स्टेर गनले बताएका हुन् । उनी भन्छन्, “मानवजन्य फोहोरमा हुने कुनैपनि सुक्ष्मजीवाणुहरु चन्द्रमाको सतहको कठोर वातावरणमा पक्कै पनि जिवित रहन सक्दैनन् । तर थोरै समयका लागि केही सङ्ख्यामा जिवित रहने हो भने पनि  ५० वर्ष बितिसक्दा पक्कै पनि तिनीहरु अहिले धुलो भइसकेका छन् । र यसले अन्तरिक्षमा जीवाणुहरुको सम्भाव्यताबारे महत्वपूर्ण जानकारी प्रदान गर्न सक्छ ।”

उनका अनुसार तिनीहरु अहिले धुलोका ब्याग भइसकेको अनुमान गरिएको छ । यसरी सन् १९७२ पछि कुनै मानिसले पनि चन्द्रमा टेकेको छैन तर अहिले दुई शक्तिशाली राष्ट्रहरु र एलन मस्क चाँडै नै चन्द्रमा अवतरण गर्ने योजनामा दृढतापूर्वक लागिरहेका छन् । मस्क, चीन र नासाले यसअघि नै सकेसम्म छोटो समयमा चन्द्रमा पुग्ने वाचा गरेका हुन् । तर तिनीहरुले अगाडिका अन्तरिक्षयात्रीहरुले छाडेको फोहोर सफा गर्ने सम्बन्धी भने केही उल्लेख गरेका छैनन् । 

नासाले २०२४ भित्रमै पहिलो महिलालाई चन्द्रमा अवतरण गराउने घोषणा गरिसकेको छ । नासाले चन्द्रमाको दक्षिणतर्फ अवतरण गर्ने योजना सार्वजानिक गरेको हो जहाँ चीनको चाङ इ ५ ले पनि आगामी वर्ष चन्द्रमाबाट स्याम्पल संकलन गरेर पृथ्वी ल्याउनेछ । चिनियाँ वैज्ञानिकहरुले नासा र युरोपियन स्पेससँग रोबोटमा आधारित यान चन्द्रमाको विपरित पोलमा अवतरण गराउने योजना पेश गरिसकेका छन् । युरोपियन स्सपेस पनि आफ्नै चन्द्रमा मिसनमा निरन्तर लागिरहेको छ । यस्तोमा विश्लेषकहरुले चीन भन्दा पहिले नासाले चन्द्रमा अवतरण गर्ने अनुमान लगाएका छन् तर एलन मस्कले सबैलाई पछि पार्न सक्ने सम्भावना पनि उत्तिकै रहेको बताइएको छ । मेट्रोबाट

तपाईंको बिचार