Friday, October 18, 2019

टुर्गानको दुईदिने क्षमता अभिमुखीकरण तालिम सम्पन्न

प्रकाशित मिति: 2019/07/04

असार १९, काठमाडौं । टुरिष्ट गाइड एसोसियसन अफ नेपाल (टुर्गान) को आयोजना तथा नेपाल टुरिजम बोर्डको सहयोगमा भएको दुई दिने क्षमता अभिमुखीकरण तालिम आज बिहीबार सम्पन्न भएको छ । बुधबारदेखि भएको सो तालिम विशेष गरी नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी गरिएको थियो ।

कार्यक्रममा पर्यटन विभागका महानिर्देशक धन्दुराज घिमिरेले प्रशिक्षण कार्यक्रमले टुरिष्ट गाइडहरुलाई अझ दक्ष बनाउने र यसले भ्रमण वर्ष २०२० लाई पनि सहयोग पु¥याउने कुरा स्पष्ट बताउनुभयो । उहाँले भ्रमण वर्षको प्रचारलाई अझ व्यापकता दिनुपर्ने कुरा औल्याउँदै यस्ता किसिमको तालिमहरुले भ्रमण वर्षलाई सार्थकता दिने बताउनुभयो ।

टुर्गानका पूर्व अध्यक्ष विष्णु ज्ञवालीले टुर्गानका सदस्यहरुले व्यक्तिगत भन्दा पनि संस्थागतरुपमा सोच्नुपर्ने कुरा बताउनुभयो । उहाँले भन्नुभयो, आफूले के पाउँछु भन्ने भन्दा पनि पाइसकेको कुरालाई मनन गरी संस्थागत सम्वृद्धिको निम्ति के गर्न सक्छु वा के गर्नु पर्छ भन्नेमा आफूलाई अभ्यस्त गराउन जरुरी छ ।

टुर्गानका पूर्व अध्यक्ष हरेराम बरालले टुर्गानले अगामी दिनहरुमा पनि यस्तै कार्यक्रमहरु गरी गाइडहरुको हौसला बढाउने काम गर्नुपर्ने बताउनुभयो । उहाँले टुरगाइडको श्रीवृद्धिको लागि हामी सबै मिलेर अगाडि बढ्नुपर्ने बताउनुभयो ।

कार्यक्रमका टुरिष्ट गाइड एसोसियसन अफ नेपाल (टुर्गान) का अध्यक्ष केदार तामाङले कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै उहाँले टुरगाइडहरु राष्ट्रका अवैतनिक राजदूतहरु हुन्, त्यसैले हामीले जहिले पनि राष्ट्र र समाजको बारेमा पर्यटकहरुमाझ सकारात्मक सन्देश प्रवाह गरी विश्व पर्यटन बजारमा नेपालको प्रतिष्ठा र गरिमा बढाउने काम गर्न टुरिष्ट गाइडहरुलाई अनुरोध गर्नुभयो । उहाँले टुरिष्ट गाइडहरुको स्तर उन्नतिको लागि आफू निरन्तर लागिरहेकोले सबैको सहयोग र साथ आवश्यक रहेको बताउनुभयो । भ्रमण वर्ष २०२० लाई सफल बनाउनको लागि टुर्गान जस्तोसुकै रुपमा पनि लाग्ने बताउँदै त्यसको लागि नेपाल पर्यटन बोर्ड, पर्यटन मन्त्रालयले टुरगाइडको क्षमता अभिवृद्धि गर्न लागि पर्नुपर्ने बताउनुभयो । उहाँले टुर्गानको पछिल्लो समयको गतिविधिले पर्यटन बजारमा अवैधानिक पथ प्रदर्शन कार्य न्यूनीकरण भएको प्रष्ट पार्दै यस्तो अवैधानिक कार्यको विरुद्धमा मन्त्रालयको सशक्तता अझ बढ्नुपर्ने पनि बताउनुभयो ।

सयभन्दा बढी टुरगाइडहरुले प्रशिक्षण लिएको उक्त तालिममा पर्यटनविद् तथा पूर्व पर्यटन सचिव दिपेन्द्र पुरुष ढकाल, संस्कृतिविद् प्राध्यापक डाक्टर विना पौडेल, पर्यटनविद् तथा नेपाल पर्वतारोहण संघका पूर्व अध्यक्ष आङ छिरीङ शेर्पा, टुर्गानका पूर्व अध्यक्ष हरे राम बराल तथा नेपाल एसोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट् (नाट्टा) का प्रथम उपाध्यक्ष अच्यूत गुराँगाइले प्रशिक्षण दिनुभएको थियो ।

तपाईंको बिचार