Friday, October 18, 2019

अस्ट्रिच फार्म सञ्चालनपछि आन्तरिक पर्यटनको चहलपहल

प्रकाशित मिति: 2019/07/07

असार २२, काठमाडौं । बैजनाथ गाउँपालिका–१ गाभरमा अस्ट्रिच फार्म सञ्चालनपछि सुनसान बस्ती चहलपहल बस्तीमा परिणत भएको छ । चहलपहलमात्र नभई यहाँ आउने पर्यटकको संख्या पनि बढेको गाउँलेहरुको भनाइ रहेको छ । 

खप्तड उद्यम व्यापार केन्द्र (अस्ट्रिच फार्म) का व्यवस्थापक मनिराज जोशीले फार्ममा छिर्न १ सय रुपैयाँको टिकट काट्नुपर्ने जानकारी दिए । उनका अनुसार गाउँमा अहिले दैनिक २० देखि २५ जना आन्तरिक पर्यटक आउँछन् । फार्म ५ बिघा क्षेत्रफल २० वर्षका लागि भाडामा लिएर फार्म सञ्चालन गरिएको हो । अस्ट्रिच फार्ममा घुमेर निस्किने पर्यटकहरु खानपान र आरामका लागि बाँसले बेरेर निर्माण गरिएका होमस्टेमा पुग्छन् । मौलिक थारू परिकार खान्छन, आराम गर्छन् । 

‘नमूना थारू होमस्टेमा आउने पर्यटकले अस्ट्रिच अवलोकन र थारू परिकारको स्वाद पाइरहेका छन’, होमस्टे सञ्चालक बाबुराम चौधरीले भने । अस्ट्रिचको मासु खानेदेखि हेर्न र अध्ययन गर्न विद्यार्थी आउने गरेको पनि उनले सुनाए । एउटा अस्ट्रिचबाट ८० देखि एक क्विन्टलसम्म मासु उत्पादन हुन्छ । प्रतिकिलो १ हजार रुपैयाँमा बिक्री गर्दै आएका उनले व्यापार राम्रोसँग फस्टाएको बताए । फार्ममा सुरुमा १५० अस्ट्रिच थिए । अहिले बिक्री भएर २० ओटा छन् । चाडपर्व र हिउँदका महीनामा पर्यटकको चाप बढी हुने गर्छ । यतिबेला आन्तरिक पर्यटककै भरमा फार्म र होमस्टे धानिएको जोशीले बताए । सुनसान ठाउँमा अस्ट्रिच पाल्न थालेपछि होमस्टेको सम्भावना देखेर चौधरीले पनि होमस्टे सञ्चालन गरेको बताए । 

होमस्टे सुरु गरेपछि चौधरी सुरुमा हाँसोका पात्र बनेका थिए । उनको व्यापार जम्दै गएपछि छिमेकी बुजौना थारू, बालकृष्ण थारू, बुजावन चौधरीले समेत होमस्टे सञ्चालन सुरु गरेका छन । ‘अब मुक्त कमैयाको गाउँ चम्कियो’, होमस्टे सञ्चालक चौधरीले भने, ‘चहलपहल र होमस्टेको रौनक बढेपछि नयाँ होमस्टे थपिँदैछन् ।’ मेघराज चौधरीले अलपत्र जमीनमा टावरसहितको आधुनिक होमस्टे निर्माण सुरु गरेका छन । साथी गगन चौधरीको साझेदारीमा झन्डै ६० लाख रुपैयाँ लगानी गरेका छन । बाँके निकुञ्ज नजिकै रहेका होमस्टेमा नजिकैबाट वन्यजन्तुको समेत अवलोकन गर्न पाइन्छ । 

तपाईंको बिचार