Sunday, August 25, 2019

पोखरामा ११ महिनामा २ लाख ८८ हजार विदेशी पर्यटक

प्रकाशित मिति: 2019/07/11

असार २६, पोखरा । गण्डकी प्रदेश सरकारले प्रदेशमा आउने पर्यटकको तथ्याङ्क संकलन गरेको छ । पर्यटकीय सहर रहेको पोखरामा ११ महिनामा २ लाख ८८ हजार विदेशी पर्यटक आएका तथ्याङ्क प्रदेश सरकारकाले निकालेको छ । 

सो तथ्याङ्क गण्डकी प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले साउन १ गते देखि स्थलमार्गमा प्रहरीको सहयोगमा र हवाई मार्गबाट आउने पर्यटकको तथ्याङ्क पोखरा विमानस्थलबाट लिइएको हो ।

गत साउनदेखि जेठ महिनासम्मको तथ्याङ्क अनुसार हवाई मार्ग र स्थल मार्ग हुँदै आउने भारतीय पर्यटकको संख्या १ लाख १६ हजार ६९६ रहेको छ । चीनसहित एसिया, युरोप, र अमेरिकाका पर्यटकको संख्या १ लाख ७१ हजार ७४९ रहेको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका शाखा अधिकृत गोविन्द पौडेलले जानकारी दिए ।

गण्डकी प्रदेशको नवलपुरमा आउने पर्यटकको तथ्याङ्क भने यस तथ्याङ्कमा समेटिएको छैन । नवलपुरतर्फ आउने पर्यटकको तथ्याङ्क पनि छिट्टै नै संकलन हुने गण्डकी प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वतावरण मन्त्रालयका सचिव विष्णुप्रसाद भण्डारीले बताए ।

हवाई मार्गबाट पोखरा आउने पर्यटको तथ्याङ्क भने पोखरा विमानस्थलले प्रदेश सरकारलाई उपलब्ध गराउँदै आएको छ । हेलिकप्टरबाट आउने पर्यटकको पनि रेकर्ड राखिने उनले सुनाए । यसअघि पोखरा आउने पर्यटकको रेकर्ड हवाई मार्गबाट आउने पोखरा विमानस्थलले र पदयात्रामा जाने पर्यटकको तथ्याङ्क अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले राख्ने बाहेक अन्य तथ्याङ्क थिएन ।

तपाईंको बिचार