Wednesday, August 21, 2019

पर्यटन प्रवद्र्धनको लागि रसुवामा नयाँ पर्यटकीय गन्तव्यको पहिचान

प्रकाशित मिति: 2019/07/15

असार ३०, काठमाडौं । पर्यटन प्रवद्र्धनका लागि रसुवामा नयाँ पर्यटकीय गन्तव्यको पहिचान गरिएको छ । 

गाउँपालिकाभित्र ओझेलमा रहेका पर्यटकीय मार्गको अध्ययन गरी आमाछोदिङ्मो गाउँपालिकाले नयाँ पर्यटकीय गन्तव्य पहिचान गरेको आमाछोदिङ्मो गाउँपालिकाका अध्यक्ष बुचुङ तामाङले बताए । उनले भने, ‘नेपाल पर्यटन बोर्ड, नेपाल पर्वतारोही संघ, गणेश हिमाल पर्यटन बोर्ड, हाईलाइटस टुरिजम डकुमेन्ट्रि लिडर तथा म्याप हाउसको प्रतिनिधिको सहभागितामा नयाँ पर्यटकीय मार्ग पहिचान गर्न अध्ययन भएको थियो । अध्ययनले जिल्लाको मैलुङ हुँदै हाकु, गत्लाङ, जार्सा, खुर्पु, जयश्वरी कुण्ड, डिल्पो कुण्ड, साङजेन हिमाल बेस क्याम्प भएर चिलिमेको तातोपानीसम्मको पर्यटकीय पदमागको पहिचान गरेको छ ।’

जिल्लाको तिरू, हाकु हुँदै गत्लाङ जाने तथा हाकुबेँसी, ठूलोहाकु हुँदै गत्लाङ जाने तामाङ सम्पदा मार्गको पनि अध्ययन गरिएको उनले जानकारी दिए । सोही गन्तव्य सान्जेन उपत्यका, सान्जेन हिमाल र तातोपानी क्षेत्रको प्रमुख आकर्षणकीय क्षेत्रहरू हुन् । अध्ययन टोलीले सान्जेन हिमालको फेदमा डिल्पो कुण्ड पनि पत्ता लगाएको छ । नयाँ पहिचान गरिएका पदमार्गमा होटेलहरू सञ्चालनमा आउने गाउँपालिकाले जनाएको छ । 

त्यसैगरी, पर्यटकीय क्षेत्रको अध्ययन गरिएसँगै अब पर्यटन प्रवद्र्धनको कार्यक्रम सञ्चालन गरिने तामाङले बताए । नयाँ पर्यटकीय गन्तव्य पहिचानका लागि गरिएको अध्ययनले नेपाल भ्रमण वर्ष २०२० लाई सहयोग पुर्‍याउने उनले दाबी गरे ।

तपाईंको बिचार