Friday, October 18, 2019

पहिलोपटक आन्तरिक पर्यटक सर्वेक्षणको तयारीमा सरकार

प्रकाशित मिति: 2019/07/16

असार ३१, काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा तीन राष्ट्रियस्तरका सर्वेक्षण गर्दैछ । त्यसमध्ये आन्तरिक पर्यटक सर्वेक्षण पनि एउटा रहेको छ । आन्तरिक पर्यटन सर्वेक्षण सरकारले पहिला पटक गर्दैछ । यस सर्वेक्षणबाट नेपालीको घुमफिर संस्कृतिको प्रवृत्ति र उनीहरुले गर्ने खर्चको यथार्थ अवस्था पत्ता लाग्ने सरकारको विश्वास छ ।

राष्ट्रिय योजना आयोगको अभिलेखमा रहने गरी विभिन्न निकायको सहयोगमा आन्तरिक पर्यटक सर्वेक्षण गर्न लागिएको आयोगका सदस्य डा. रामकुमार फुयाँलले जानकारी दिए । ‘हामीसँग आन्तरिक पर्यटनसम्बन्धी यकिन तथ्यांक छैन,’ सदस्य डा. फुयाँल भन्छन्, ‘विदेशी पर्यटक आगमनको बलियो आधार बनाउन पनि आन्तरिक पर्यटनको तथ्यांक अत्यावश्यक छ ।’

सरकारको आगामी आर्थिक वर्ष २०७६÷७७ को योजना तथा तथ्यांकसम्बन्धी वार्षिक विकास कार्यक्रममा आन्तरिक पर्यटक सर्वेक्षणलाई समेटिएको छ । वार्षिक विकास कार्यक्रममा अवधारणाका रुपमा समेटिएको यो सर्वेक्षण राष्ट्रिय योजना आयोगकै सम्पत्तिका रुपमा रहने छ ।
तर, गणनाको क्रममा सबै सरोकारवालासँग सहयोग लिइने उनले बताए । ‘सर्वेक्षण केन्द्रीय तथ्यांक विभाग वा अरु कुनै निकायको नेतृत्वमा होला,’ उनी भन्छन्, ‘तर, यो राष्ट्रिय सम्पत्ति हुनेछ ।’

नेपालले कति पर्यटकलाई एकसाथ सेवा दिन सक्छ भन्ने वास्तविक सर्वेक्षण अहिलेसम्म भएको छैन ।

तपाईंको बिचार