Wednesday, August 21, 2019

डोल्पामा “डोल्पा महोत्सव २०७६” हुने

प्रकाशित मिति: 2019/07/17

साउन १,  काठमाडौं । आगामी भदौ २४ देखि २८ सम्म डोल्पो “महोत्सव २०७६” हुने भएको छ । 

डोल्पोबुद्ध गाउँपालिका र भिजन डोल्पो संस्थाले नेपाल पर्यटन बोर्डमा संयुक्त पत्रकार सम्मेलन गरी डोल्पामा पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले महोत्सव सञ्चालन गर्न लागिएको जानकारी दिए ।

महोत्सव समितिका अध्यक्ष ग्याल्पो थापा भोटेले भने, ‘नेपाल भ्रमण वर्ष २०२० को पूर्व सन्ध्यामा त्यसलाई टेवा पुर्‍याउने उद्देश्यका साथ नेपाल सरकारद्वारा घोषित ‘समृद्ध नेपाल, सुखी नेपाली’ राष्ट्रिय अभियानको साझेदार बन्न डोल्पो महोत्सव आयोजना गर्न लागिएको हो।’

डोल्पाको डोल्पा क्षेत्रमा कुनै पनि माध्यमिक स्तरको विद्यालय छैन्। २०५१ सालमा ‘दर्शन डोल्पोको, आर्जन शान्तिको’ भन्ने मूल नाराका साथ सुरु भएको क्रिस्टल माउन्टेन आधारभूत विद्यालय स्थापना दिवसको अवसर पारेर महोत्सव आयोजना गर्न लागिएको हो।

महोत्सवले डोल्पो क्षेत्रको शिक्षा, स्वास्थ्य, सरसफाई, सञ्चार, यातायात, वातावरण तथा संस्कृतिमा डोल्पाबासीले सामना गर्नुपरेका चुनौतिबारे केन्द्र र प्रदेश सरकार दुवैको ध्यानाकर्षण गरि जिल्लाको डोल्पो क्षेत्रलाई नेपालको प्रमुख पर्यटकीय गन्तव्य बनाई समुदायको सामाजिक र आर्थिक पक्षमा सुधार गर्न महोत्सव आयोजना गर्न लागेको आयोजक समितिका सल्लाहकार हंसबहादुर शाहीले बताए।

महोत्सवमा डोल्पामा रहेका खस तथा मष्टो संस्कृति, तराली, डोल्पो संस्कृति, विभिन्न किसिमका प्रथा परम्पराको प्रदर्शनका साथै डोल्पो जनजीवनसँग साक्षात्कार गराउने उद्देश्य समितिले लिएको छ।

महोत्सवमा उच्च ओहदाका लामाबाट अध्यात्म र वातावरणसम्बन्धी प्रवचन, गोन्पाबाट मुखौटा नृत्य, डोल्पो क्षेत्रबारे बनाइएका विभिन्न वृत्तचित्रको प्रदर्शनी, निःशुल्क स्वास्थ्य शिविर, विभिन्न कलाकृतिको प्रस्तुति, भ्रमण तथा पैदल यात्रा विहार अवलोकन, अन्तरविद्यालय अतिरिक्त क्रियाकलाप सञ्चालन गर्ने र डोल्पो क्षेत्रको विकासबारे योजना बनाउने तथा छलफल गरिने आयोजक समितिले जनाएको छ।

तपाईंको बिचार