Tuesday, November 12, 2019

पर्यटकीय गन्तव्यको रूपमा रहेको देउराली गुफा संरक्षणको पर्खाइमा

प्रकाशित मिति: 2019/08/08

साउन २३, रुकुमपूर्व । जिल्लाको सिस्ने गाउँपालिका–५ रुमालबारास्थित लुकुमगाडको तीरैमा पर्यटकीय गन्तव्यको रूपमा रहेको देउराली गुफा संरक्षणको पर्खाइमा छ । रुकुमपूर्वको सदरमुकाम रुकुमकोटबाट पूर्वी क्षेत्र तथा भेरीको एक अंश भएर बग्ने लुकुमगाडको तीरैमा रहेको पर्यटकीयस्थल देउराली गुफा सङ्कटमा पर्दै गएको छ । 

लुकुमगाडको तीरैमा रहेको गुफा सदरमुकाम रुकुमकोटदेखि पाँच किलोमिटर दूरीमा पर्छ । गुफामा चैते दशैँ र नयाँ वर्षको दिन मेला लाग्ने गर्दछ । गुफाको अगाडिबाट सुसाउँदै लुकुमगाडखोला बगिरहेको छ । उचितरूपमा गुफाको संरक्षण गरी सयौँ पर्यटक घुमफिर गर्ने थलो बनाउन सकिने भए पनि पर्याप्त मात्रामा प्रचारप्रसार हुन नसक्दा महत्व बोकेको यस क्षेत्र गुमनाम छ । प्राकृतिक हिसाबले समेत महत्वपूर्ण रहेको देउराली गुफालाई पर्यटकीय गन्तव्यको रूपमा विकास गर्नुपर्ने देखिन्छ ।

देउराली गुफालाई पर्यटकीय गन्तव्यका रूपमा विकास र विस्तार गर्न सरकारले पर्यटकलाई आकर्षण हुने खालका संरचनाको विकास गर्नुपर्ने सरोकारवालाको भनाइ छ । स्थानीय बासिन्दाका अनुसार देउराली गुफालाई पर्यटकीय गन्तव्य बनाउन सके स्थानीय बासिन्दाको जीविकोपार्जनमा सहज हुनेछ । गाउँपालिकाले विकास र समृद्धिको नाराअनुसार नीति तथा कार्यक्रम बनाएर देउराली गुफाको संरक्षण तथा प्रचारप्रसार गर्ने योजना बनाएको सिस्ने गाउँपालिका अध्यक्ष कुमारी बरालले बताउनुभयो ।

हाल गुफाभित्र रहेका सबै कलाकृतिहरुमा तोडफोड भएको छ । केही वर्ष अगाडिसम्म ढुङ्गामा कुँदिएका मूर्तिहरुले सजिएको देउराली गुफा हेरेर सबै मोहित हुन्थे । पहिले गुफा दुईतलाको थियो । अहिले एक तला बन्द भइसकेको छ । गुफाभित्र जताततै घुँडासम्म डुबाउने चिसो पानी छ भने माथिबाट पनि तपतप पानी चुहिरहन्छ । गुफाभित्र पहिले थुप्रै चराहरु पाइने गरेको भए पनि अहिले थोरै चमेरा मात्र पाइने गरेका छन् । गुफा पूरै अँध्यारो भएकाले भित्र जाँदा बत्ती बोकेर जानुपर्छ । गुफाभित्र पस्दा पानीले सबैलाई निथ्रुक्कै हुने गरी भिजाउँछ । तर बाहिर निस्कने बित्तिकै एकैछिनमा पानी ओभाएर जान्छ, यो गुफाको विशेषता हो । चिसोको अनुभव पनि हँुदैन । यो देखेर मान्छेहरु चकित हुन्छन् ।

देउराली गुफा हेर्न छिमेकी जिल्लाबाट पनि पाहुना आउने गरेका छन् । रुकुमपूर्व नयाँ जिल्ला भएपछि नयाँ सदरमुकादेखि नजिकैको दूरीमा पर्ने भएकाले दैनिक १० देखि २० सम्म गुफा अवलोकन गर्न जाने गरेका छन् । विशेषगरी शनिबारको दिनमा गुफा हेर्नेहरुको घुइँचो लाग्ने गरेको छ । विभिन्न जिल्लाबाट रुकुमपूर्व र त्यस आसपासका जिल्लालाई कार्यक्षेत्र बनाएर आएका विभिन्न निकायका कर्मचारीको गन्तव्यको थलो बनेको छ देउराली गुफा । जाँदाआउँदाको बाटो अप्ठ्यारो भए पनि त्यहाँ पुगेर गुफाको दृश्यसँग रमाउन र तस्वीर खिच्न पाउँदा आफू निकै खुशी भएको प्यूठान घर भई जिल्ला प्रहरी कार्यालय रुकुमपूर्वमा कार्यरत दामोदर न्यौपानेले बताउनुभयो । 

“गुफाको नाम सुनेको थिएँ, तर रुकुमकोट आएपछि आफ्नै आँखाले देख्न पाइयो”, आफ्नो अनुभव सुनाउँदै रुकुमपश्चिमका अर्का छविलाल घर्तीमगरले भन्नुभयो, “गुफाभित्र पसेपछि भित्रको सुन्दरताले बाहिर निस्कनै मन नलाग्दो रहेछ ।” यति सुन्दर तथा पर्यटकीय क्षेत्रको प्रचुर सम्भावना बोकेको यस क्षेत्रलाई समयमै संरक्षण गर्नतर्फ सबैले ध्यान दिने हो भने चर्चा बटुलेका अन्य गुफाभन्दा बढी आकर्षित तथा सुन्दर हुने उहाँले बताउनुभयो । 

तर, यसको संरक्षणतर्फ कसैको ध्यान गएको छैन । गुफा अगाडि २०÷२५ भन्दा बढी मानिस अटाउन सक्ने खालको आँगनसमेत छैन । मेला लाग्दा भीरमै कोचिएर भए पनि १०० जनासम्म अटाउँछन् । पहिले गुफाभित्र विभिन्न आकृतिका मूर्ति थिए । पञ्चेबाजा, वाद्यवादनका सामग्री, सानो बच्चालाई दूध चुसाउँदै जाँतो घुमाइरहेको, ढिकी कुट्दै गरेको, भालुको मुख, हात्ती, विभिन्न देवीदेवताका मूर्ति तथा पत्थरबाट बनेका मालालगायत अनौठा खालका भित्तामा टाँसिएका थुप्रै मूर्ति थिए । ती मूर्तिले मानिसलाई आफैँतिर आकर्षण गरिरहेका हुन्थे । तर अहिले ती मूर्ति गुफाको भित्तातिर कतैपनि देखिँदैनन् । कहीँकतै टुटेफुटेका निसान मात्र देखिन्छन् ।

सिस्ने गाउँपालिका–५ का सूर्यबहादुर नेपालीका अनुसार ५५ वर्ष अगाडि देउराली गुफाबाट छिरेर भित्रभित्रै पाँच किलोमिटर पर बागदुला र तीन किलोमिटर पर खानीदुलाबाट बाहिर निस्कने ठाउँ थियो । देउराली गुफाभित्रबाट धेरै परसम्म पनि जाने ठाउँ देखेपछि परीक्षणका लागि चमेरा समातेर त्यसलाई रङ घसेर देउराली गुफामा राखिदिएको र त्यो चमेरा केही समयपछि खानीदुलाबाट बाहिर निस्किएको थियो । बागदुलामा पनि यसरी नै परीक्षण गरिएको थियो ।

त्यहाँ गएर फोहर गर्नु हँुदैन, झुटो बोल्नु हँुदैन, त्यहाँका चरालाई मार्नु हुँदैन, मूर्तिमा क्षति पु¥याउनु हँुदैन । यदि त्यसो गरेमा अनर्थ हुने किवंदन्ती रहिआएको थियो । तर अहिले बिल्कुल त्यसो छैन । नेपालीले भन्नुभयो, “आजकल सब ठीक उल्टो भएको छ । खानीदुला र बागदुलाको स्थिति के छ, कसैलाई थाहा छैन । 

संरक्षण र प्रचारप्रचारको अभावले देउराली गुफा ओझेल पर्दै गएकाले यसको संरक्षणमा सबै लाग्नुपर्ने सिस्ने गाउँपालिका–५ का स्थानीयवासी जयबहादुर मल्लले बताउनुभयो । यसको संरक्षण र प्रचारप्रचारमा कसैले ध्यान नदिने हो भने जिल्लालाई पर्यटनको क्षेत्रमा घाटा लाग्ने उहाँको भनाइ छ । 

विसं २०६५÷६६ मा गुफा संरक्षणका लागि पहिलोपटक गाविसबाट रु २५ हजार र दोस्रोपटक रु ५० हजार छुट्याइएको थियो । त्यो रकमले गुफा वरिपरिको झाडी हटाइएको र पिलर उठाएर एउटा गेट निर्माण गरेको मल्लले बताउनुभयो । उहाँका अनुसार विसं २०७० मा सञ्चालन गरेको कमलदह पर्यटन महोत्सवबाट सङ्कलन भएको रु ७० हजार छुट्याइएको थियो । उक्त रकमले त्यहाँसम्म पुग्न सजिलो होस् भनेर घोडेटो बाटो बनाइएको हो । त्यो भन्दा पछाडि गुफा संरक्षणतर्फ कसैले ध्यान नदिएको स्थानीयवासी बताउँछन् । गुफासम्म पुग्नलाई सहज बाटो छैन । भिरको बाटो जोखिम मोल्दै मानिस त्यहाँ पुग्ने गरेका छन् । 

गुफा संरक्षणका लागि थोरै बजेटले नपुग्ने भएकाले प्रदेश सरकारसँग छलफल गरिरहेको गाउँपालिका अध्यक्ष बरालले बताउनुभयो ।

तपाईंको बिचार