Saturday, September 21, 2019

ऐतिहासिक देवदह ताल ओझेलमा

प्रकाशित मिति: 2019/08/18

भदौ १, परासी । पश्चिम नवलपरासीको सुनवल नगरपालिका–७ स्थित शान्तिका अग्रदूत भगवान् गौतमबुद्धसँग जोडिएको ऐतिहासिक देवदह ताल तरगौली ओझेलमा परेको छ । देवदह तालको आवश्यक प्रचारप्रसार तथा विकास हुन नसक्दा ऐतिहासिक महत्व भएर पनि यो ताल ओझेलमा परेको स्थानीयवासीको गुनासो छ ।

पूर्वपश्चिम राजमार्गअन्तर्गत सुनवल नगरपालिकाको ज्यामिरेबाट चार किलोमिटर दक्षिणमा रहेको यो ताल क्षेत्रमा ऐतिहासिक साम्यमाई मन्दिर, बौद्ध गुम्बा, सभाकक्ष, सुन्दर बगैँचा र हरियालीसहितको रमणीय वातावरण रहेको छ । उचित सरसफाइको कमीका कारण ताल भने जलकुम्भीले भरिएको छ । दहको छेउछाउमा भने निर्माण कार्य भएको छ । वरिपरि तारजालीले घेरिएको छ । साम्यमाई मन्दिर परिसरमा फलफूलका बोट विरुवा लगाईएको छ । 

देवदह ताल तरगौलीमा कोलिय गणराज्यभित्र पर्ने मायादेवी (भगवान् गौतमबुद्धकी आमा) ले स्नान गरेको तथा सो क्षेत्रमा मायादेवीकी माइली बैनी साम्यमाईको परिवार बसोवास गर्ने सुन्दर राजमहल रहेको बुदस्य जीवनमा वृत्तान्त नामक ग्रन्थमा उल्लेख भएको पाइन्छ । वास्तविक देवदह ताल यही तरगौली भए पनि ओझेलमा पर्दै गएको ऐतिहासिक देवदह ताल संरक्षण समितिका अध्यक्ष टेकबहादुर कार्की बताउनुहुन्छ । 

“बुद्धसँग जोडिएको भए पनि यो देवदह तालको उत्खनन हुन सकेको छैन, हामीले उत्खननका लागि धेरै प्रयास पनि ग¥यौँ, तर सफल भएको छैन”, उहाँले भन्नुभयो, “स्थानीय बासिन्दाको सक्रियता, क्रियाशीलता र पहलमा यहाँ रहेको साम्यमाई मन्दिरको संरक्षण र निर्माण, पर्यटन मन्त्रालय लगायतको सहयोगबाट यसको पूर्वाधार सहयोगका काम भइरहेका छन् ।” 

ऐतिहासिक देवदह ताल संरक्षण एवं पुनःनिर्माण समाज नामक संस्था स्थापना गरी विसं २०६४ देखि मात्र यहाँको संरक्षण थालिएको उहाँले बताउनुभयो तर पनि यस ठाउँको धार्मिक तथा पुरातात्विक महत्व दर्शाउने गरी प्रचारप्रसार तथा व्यवस्थित योजना बनाउने कार्यमा प्रभावकारिता आउन नसकेको अध्यक्ष कार्की बताउनुहुन्छ । 

प्राचीन समयमा दहको बीचमा उल्का तारा खसेको र त्यसलाई भोजपुरी भाषामा ‘तर भनिने हुँदा पछि तर गाउँ’ भन्दा भन्दै तरगौली नाम रहन गएको समितिका कोषाध्यक्ष रामबहादुर महत्तो बताउनहुन्छ । “कहिलेकाहीँ दहको बीचमा सुनको नथुनी लगाएको माछा देखिने गर्दथ्यो तर पछि लोप भएको तथा ती माछा खान पनि नहुने विश्वास रहेको छ”, उहाँले भन्नुभयो । 

महतोका अनुसार परापूर्वकालमा दहभित्रबाट राँगाहरु बाहिर आई खेतीपाती खाने र पोखरीमै अलप हुने गर्दथे । दहको बीचमा ठूलो कोल गाडिएको र त्यस कोलमा सोडासो सहितको साङ्लो (सिक्री) बाँधिएको थियो, जसले पोखरीमा पानी खान आउने जनावरलाई समाति कोलभित्र राखी आहारा बनाउने गथ्र्यो । एक दिन पोखरी नजिक आएको हात्तीलाई साङ्लोले बल्झाउन खोज्दा टुट्न गयो । टुटेको साङ्लो लोहार (विश्वकर्मा) लाई बनाउन लगाउँदा उसले नबनाएपछि श्रापमा परेको र त्यस गाउँमा वस्न नहुने, वसेपनि मृत्यु हुने कारणले गर्दा आज पनि यस स्थानमा कोही पनि लोहार नबस्ने गरेको उहाँको भनाइ छ । 

२५१० वर्ष पहिलाको बुदस्य जीवन वृत्तान्तम नामक ग्रन्थमा उल्लेख भएअनुसार बुद्धको विवाहपश्चात् श्रीमती भागेर माइत गएपछि खोजिका लागि बुद्ध मावली आउँदा आफ्नो श्रीमतीलाई नभेटेपछि विरक्तीएर सिकार खेल्न कमल पोखरीअर्थात देवदह ताल तरगौलीमा आइपुगे । आफ्नो साथमा भएको धनुवाणले चारो लिन आएको राजहंसलाई मार्न खोज्दा राजहंसले प्राथना गरी मलाई मात्र होइन मेरा छोराछोरीहरुलाई सबैलाई मार भनेपछि बुद्धको ज्ञान खुल्यो र माहात्मा बन्न प्रेरणा पुग्यो । उनको साथमा रहेका हतियारहरु सोही ठाउँमा फ्याके र तालको पूर्वपट्टिको पाकडी रुखमुनि सात दिनसम्म तपस्या गरेका हुन् भन्ने किम्बदन्ती पाइन्छ । 

गौतमबुद्धका आमाहरु तीन बहिनी रहेको र मायादेवीकी माहिली बहिनी साम्यमाई यसै तरगौली गाउँमा बसोवास गरेको हुदाँ उनलाई साम्यमाई भनिएको हो । यस ऐतिहासिक साम्यमाई मन्दिरको चारै तिर महलहरु थिए । धेरै वर्षको अन्तरालमा पुरानो भएकाले भत्किन गयो, जसलाई अहिले यस दहको दक्षिण पश्चिमको क्षेत्रलाई मान्ने गरिन्छ । 

तरगौलीमा रहेको देवदह तालको संरक्षण, पहिचान, अनुसन्धान गरी असल योजना बनाउने र कुशल व्यवस्थापन गर्न सकेमा यस ठाउँको महत्व एवं सामाजिक, आर्थिकस्तरलाई माथि उठाउन सकिने सम्भावना रहेको स्थानीयवासी हर्क गुरुङ बताउनुहुन्छ । यस क्षेत्रका बुद्धस्थललाई समेटेर एकीकृत विकास गरिनुपर्ने उहाँको जोड छ । 

दहको वरिपरि १२ बिघा क्षेत्रफल भएको ऐतिहासिक भूमिलाई आवश्यकता र महत्वको आधारमा गुरुयोजना बनाई कार्यान्वयन गर्न सुनवल नगरपालिकाले पहल थालेको सुनवल–७ का वडाध्यक्ष वसन्तराज दाहाल बताउनुहुन्छ । “चालू आवमा नगरपालिकाले तालको लागि रु २० लाख बजेट विनियोजन गरेको छ, तालको एकीकृत विकास र पर्यटन प्रवद्र्धनका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) निर्माणका लागि बजेट विनियोजन भएको छ, नगरपालिकाको रातो किताबमा तालको महत्व र इतिहासलाई समावेश गरिएको छ”, उहाँले भन्नुभयो । 

पूर्वपश्चिम राजमार्ग नजिकै रहेकाले यस क्षेत्रको विकासमार्फत पर्यटन व्यवसायलाई अगाडि बढाउन सकिने उद्योग वाणिज्य सङ्घका जिल्ला अध्यक्ष केशव भण्डारी बताउनुहुन्छ । “सडकमा आवातजावत गर्ने हजारौँ पर्यटक आकर्षण गर्न ताल वरपर होमस्टे सञ्चालन लगायतका पर्यटक आकर्षण गर्ने संरचना बनाउन आवश्यक रहेको छ”, उहाँले थप्नुभयो ।

उहाँका अनुसार देवदह ताललाई आकर्षणको केन्द्र बनाई आयआर्जन तथा रोजगारी बढाउने खालका व्यवसाय सञ्चालन गर्ने अवसरको सिर्जना गर्न सके यस क्षेत्रको तीव्ररुपमा विकास गर्न सकिन्छ । यसको आवश्यक प्रचारप्रसार र विकास गर्न निजी क्षेत्रले पनि सहकार्य गर्न तयार रहेको भण्डारीले बताउनुभयो ।

तपाईंको बिचार