Thursday, November 14, 2019

मदन आचार्य समूहले संगठनमा फर्की भन्ने हैसियत राख्न सक्दैनः सिताराम सापकोटा

प्रकाशित मिति: 2019/08/19

भदौ २, काठमाडौं । पूर्व एमाले निकट नेपाल राष्ट्रिय पर्यटन व्यवसायी सङगठनले आइतबार तथाकथित बैठक डाकेर राष्ट्रिय महाधिवेसन पश्चात् आफूहरुलाई फर्कन आह्वान गरेको प्रति पूर्व एमाले निकट अर्को पर्यटन व्यवसायी संगठन नेपालले गम्भीर आपत्ति जनाएको छ । संगठनका अध्यक्ष सिताराम सापकोटाले नेकपा एमाले र नेकपा माओवादीबीचको एकीकरण पश्चात् पार्टीका सबै जनवर्गीय संगठनहरु भंग भइसकेको सन्दर्भमा पार्टीको बैठकको नाममा यता आइज र उता आइज भनेर निर्णय गरेर आह्वान गर्नु लज्जासपद् विषय भएको बताएका छन् । 

सापकोटाले गन्तव्य नेपालसँग कुराकानी गर्दै वर्तमान परिस्थितिमा पर्यटनमा कुनै पनि संगठन नरहेको बताउँदै पार्टीका समूहहरु भने यथावत रहेको र आफूहरु नेकपाको संगठनलाई मजबूत बनाउनको लागि वार्ता र संवादको लागि जहिले पनि खुला रहेको बताएका छन् । हामी मदनकुुमार आचार्यले नेतृत्व गरेको तत्कालीन एमाले निकट नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठनबाट राजीनामा दिएर फुटेर हामीले संगठन निर्माण गरेका होइनौं । हामीले तत्कालीन नेकपा एमाले पार्टीको विधिवत प्रक्रियाबाट पर्यटन क्षेत्रमा अग्रगामी र सशक्त संगठन निर्माण गरेका हौं । यो सबैले राम्रोसँग बुझ्दा हुन्छ । आफैंमा आधिकारिकता छैन, अनि अरुलाई आइज भन्नु कत्तिको युक्तिसंगत कुरा हो ? उनले भने । अवैधानिक संगठनले जे निर्णय गर्छ, त्यसैको पछिपछि लागिदैन, अहिले सबै पर्यटन पार्टीका संगठन भंग भएको अवस्था छ ।
  
सापकोटाले कुराकानीमा पार्टीको पर्यटन विभाग, उद्योग व्यवसायी विभागहरु गठन भइसकेकोले विभागले लिएको निर्णयप्रति सबै वामपन्थी निकट पर्यटन व्यवसायीहरु एक भएर अगाडि बढ्नुपर्ने पनि बताए । फरक मत राख्दै तत्कालीन एमाले निकटको पर्यटन व्यवसायी संगठन नेपाल डेढ वर्ष अघि विधिवत रुपमै सिताराम सापकोटाको अध्यक्षतामा  जिल्ला प्रशासन कार्यालयमा दर्ता गरी संगठन निर्माणमा अगाडि बढेको थियो ।

तपाईंको बिचार