Saturday, September 21, 2019

टानमा प्रजातान्त्रिक समूहको पल्लाभारी, ८३ मतको अन्तरले सुवेदी विजयी

प्रकाशित मिति: 2019/09/07

भदौ २१, काठमाडौं । ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) को अध्यक्षमा प्रजातान्त्रिक समूहका खुमबहादुर सुवेदी विजयी भएका छन् । शुक्रबार होटल सोल्टी क्राउन प्लाजामा टानको ४१ औं वार्षिक साधारण सभासँगै सम्पन्न निर्वाचनमा अध्यक्षका अर्का प्रत्यासी अञ्जन थापा (कुमार) लाई ८३ मतले पराजित गर्दै विजयी भएका हुन् ।

सुवेदीले ५२१ मत ल्याएर विजयी भएका हुन् भने पराजित थापाले ४३८ मतमा चित्त बुझाउनुपर्यो । महासचिवमा भने वाम गठबन्धनबाट थापा समुहकी सरिता लामा १३ मतान्तरले अर्का प्रत्यासी कर्मा शेर्पालाई पराजित गर्दै विजयी भइन् ।

समग्रमा नयाँ कार्यसमितिको अन्य पद भने मिश्रित आएको छ ।

नयाँ कार्यसमितिको सुवेदी समुहका वरिष्ठ उपाध्यक्षमा नविन त्रिताल, प्रथम उपाध्यक्षमा चोलेन्द्र बहादुर कार्की, द्धितीय उपाध्यक्षमा भरत सापकोटा, सचिवमा थापा समुहका दामोदर ढकाल निर्वाचित भएका छन् ।

त्यस्तै कोषाध्यक्षमा सुवेदी समुहकी ऋतु ग्याम्दान र सहकोषाध्यक्षमा सुर्यकुमार श्रेष्ठ निर्वाचित भएका छन् ।

महिला सदस्यमा थापा समुहकी ङिमादिकी शेर्पा निर्वाचित भएकी छिन् ।

सदस्यमा थापा समुहको पाँच जना ठाकुर सापकोट, प्रेम बहादुर लामा मिङमातेन्जिङ शेर्पा, रामबहादुर गुरुङ र सुवेदी समुहका सनम शेर्पा, कान्छा शेर्पा, सिम्बीर घले तथा सोनाम ग्याल्जेन शेर्पा विजयी भएका छन् ।

प्रमुख निर्वाचन अधिकृत रमेश कुमार मैनालीका अनुसार १ हजार ३१९ मतदाता रहेकोमा जम्मा ९ सय ८१ मत खसेको थियो ।

को हुन अध्यक्ष खुम बहादुर सुवेदी ?

२०४९ सालमा ट्रेकिङ गाइड हुँदै पर्ववतीय पर्यटन क्षेत्रमा प्रवेश गरेका सुवेदी युनिक एडभेन्चर इन्टरनेसनल प्रा.लि., ट्रिपल ए होलिडेज् र ट्रिपल ए टान्सपोर्ट्का प्रबन्ध निर्देशक हुन् ।

टानको वरिष्ठ उपाध्यक्ष र कोषाध्यक्ष भएर काम गरिसक्नुभएका उनी पर्यटन व्यवसायीमात्रै होइन नियात्राकारसमेत हुन् । ‘पदयात्राका पाइलाहरु’ र ‘बेल्जियमका क्षणहरु’ सुवेदीका दुई नियात्रा कृति हुन् । विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानहरुबाट सम्मानित भइसकेका उनी धादिङ, ज्वालामुखीमा जन्मेका हुन् ।

सुवेदीले नेपाली पर्यटन प्रवद्र्धनार्थ ४० भन्दा बढी देशहरुको भ्रमण गरिसकेका छन् । उनी सामाजिक सेवामा कृयाशिल ह्यान्ड इन ह्यान्ड नेपालका अध्यक्षसमेत हुन् ।

यस्तो छ मत परिणामः

तपाईंको बिचार