Thursday, October 24, 2019

उडानलाई प्रभावकारी र दीर्घकालीन बनाउन व्यवसायीहरुको सूझाव संकलन

प्रकाशित मिति: 2019/09/17

भदौ ३१, काठमाडौं । नेपाल–जापान उडानलाई प्रभावकारी र दीर्घकालिन बनाउन नेपाल एसोसिएशन अफ ट्राभल्स एण्ड टुर अपरेटर्स (नाट्टा) ले मंगलबार व्यवसायीहरुसँग सुझाव संकलन गरेको हो ।

व्यवसायीहरुले व्यवसायीहरुलाई प्याकेज दिइनुपर्ने, डिजिटल मार्केटिङ गर्नुपर्ने, जापानका ठूला एजेन्टहरुलाई आकर्षित गर्नुपर्ने, एयरफेयरलाई तुलनात्मक रुपमा प्रतिस्पर्धात्मक बनाइनुपर्ने, जापानका लागि छुट्टै डेक्स खडा गरेर मार्केटिङका लागि टिम परिचालन गर्नुपर्ने लगायतका सुझाव दिएका थिए ।

नाट्टाका अध्यक्ष सिएन पाण्डेले जापानको पर्यटन बजार नेपालका लागि अत्यन्त सम्भावनायुक्त रहेको औल्याउँदै निगमको ओसाका उडान पैसासँग मात्रै नभई मुलुकको पहिचान स्थापित गर्ने कुरासँग जोड दिनुपर्ने बताउनुभयो । निगमले व्यवसायी र सम्बन्धित निकायहरुसँगको सहकार्य बढाउने स्पष्ट योजना निर्माण गर्नुपर्नेमा उहाँको जोड थियो । अध्यक्ष पाण्डेले व्यवसाय सुरु गर्नेवित्तिकै नाफा भइहाल्छ भन्ने कुरा सम्भावना नभएको भन्दै दीर्घकालिन व्यवसायिक योजना बनाउनुपर्ने आवश्यकता औल्याउनुभयो ।

नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले निगमसँग बोर्डको सम्बन्ध अझ प्रगाड बनाउँदै पर्यटन प्रवद्र्धनमा लाग्नुपर्ने आवश्यकता औल्याउनुभयो । उहाँले नेपाल पर्यटन बोर्डले अगाडि बढाएको प्रवद्र्धनात्मक कार्यक्रमलाई उपलब्धिमूलक बनाउका लागि राष्ट्रिय ध्वजावहाकको कनेक्टीभिटीलाई प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो ।

निगमका कर्पोरेट डाइरेक्टर टंकनिधी दाहालले निगमको प्रोजेक्टर प्रस्तुति प्रस्तुत गर्दै यसबीचको अवस्थाले निगमको ओसाका उडान राम्रो हुने संकेत दिएको बताउनुभयो । उहाँले जापानमा छिट्टै निगमको डेक्स स्थापना गर्ने तयारी भइरहेको जानकारी दिदै एयरफेयर मास प्रस्पेक्टिभका आधारमा तयार गर्ने र अपरेटर्स एजेन्सीहरुले बनाउने प्याकेजलाई अगाडि बढाउने बताउनुभयो । आगामी दिनमा व्यवसायी र सम्बन्धित निकायको सुझावलाई आत्मसाथ गर्दै व्यवसायिक योजना बनाउने प्रतिबद्धतासमेत उहाँले जनाउनुभयो ।

तपाईंको बिचार