Monday, October 21, 2019

सद्भावना दूत मानिने पथ प्रदर्शकका लागि आवश्यक तालिमको अभाव

प्रकाशित मिति: 2019/09/19

असोज २, काठमाडौं । पथ प्रदर्शक अर्थात गाइड बन्नका लागि कानूनी प्रावधान रहेको छ । नेपालमा गाइड आकर्षणको पेशा मानिन्छ । तर, आवश्यक तालिम नपाइने गरेको गुनासो पनि उस्तै छ । सरकारले गाइडका लागि दुई वटा संस्था मार्फत तालिम लिनुपर्ने तोकेको छ । यी संस्थाहरुले ३० दिनदेखि ४५ दिनसम्म तालिम दिने गर्छन् । यो पर्याप्त नभएको पथप्रदर्शकको भनाइ छ ।

अहिले नेपालमा गाइडको सङ्ख्या १७ हजार ६ सय ६४ पुगेको छ । तर, सबै दक्ष छैनन् । होलट, लज, रेष्टुराँ तथा रिसोर्ट, बार तथा पथप्रदर्शक नियमावली २०३८ मै उल्लेख गरेर तालिम दिने संस्था किटान गरिएको छ । नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान र पर्वतीय प्रशिक्षण प्रतिष्ठानले मात्र तालिम दिनसक्छन् । पथप्रदर्शकलाई मौसमी पेशा पनि भनिन्छ । अर्थात पर्यटक भित्रिने मौसममा मात्र काम चापाचाप हुन्छ । बढीमा ६ महिना मात्र पर्यटक आउने भएकाले बाँकीका महिना बेरोजगार हुनुपर्ने समस्या रहेको पथप्रदर्शकहरु बताउँछन् ।

नेपालमा बर्षेनी आउने पर्यटकको सङ्ख्या लगभग ६ लाखको हाराहारीमा रहेका छ । बर्षेनी आउने पर्यटकको सङ्ख्या भने सन्तुलन रहेको नेपाल सरकारको दाबी रहेको छ । अब नेपाल सरकारले टे«किङ गाइड लाइसेन्समा कडा मापदण्ड राखेर गुणस्तर गाइड उत्पादन गर्ने योजना बनाएको छ । तर, तालिमका विषयमा ठोस कार्यविधि भने छैन ।

यता, ट्रेकिङ एशोसियशन अफ नेपाल टानले गाइड अर्थात पथ प्रदर्शकको क्षमता वृद्धि र मापदण्डबारे सरकारी पक्षसँग छलफल हुन नसकेको बताउँदै आएको छ । पर्यटक ऐनमा पथ प्रदर्शकको योग्यताबारे उल्लेख भएपनि ठोस मापदण्ड बन्न सकेको छैन । पथ प्रदर्शक मुलुकका सद्भावना दूत पनि हुन । त्यसैले विशेष मापदण्ड तोकेर क्षमताको विकास गर्न आवश्यक रहेको जानकारहरुको सुझाव छ ।

तपाईंको बिचार