Monday, October 21, 2019

विश्व पर्यटन दिवसको हुईयाः सेता व्यानर, निरीह अनुहार !

प्रकाशित मिति: 2019/09/30

नेपाल भ्रमण वर्ष २०२० सुरु हुन ३ महिनामात्रै बाँकी छ, यद्यपी पूर्वाधार लगानीमा जोड दिएको बताउने सरकारको लगानी कता पोखीयो की चुहियो अत्तोपत्तो छैन । केहीदिन अघि सेप्टेम्बर २७ तारिखका दिन विश्व पर्यटन दिवसको झल्को पनि आगामी वर्षका लागि हल्ला गरिएको भ्रमण वर्षलाई गिज्याउने अस्त्रका रुपमा देखियो ।
आन्तरीक तथा बाह्य पर्यटनको चर्को कुरा गर्ने व्यवसायी र सरकार दुबैको भूमिका ४०औँ संस्करणसम्म आईपुग्दा सेता व्यानर, प्रभातफेरी र दुईचार थान सेल्फी लिनकै लागि प्रयोग हुनु पुरानै कार्यक्रमको निरन्तरताबाहेक अरु केही होइन । 
आजको विश्व सिर्जनशिलताको संकेत आउनुपथ्र्यो । हिजोभन्दा आज, आजभन्दा भोली यथास्थितिको परिवर्तन अवश्यम्भावी हो । यद्यपी देशभित्र निरासाको खाडल चुलिदा बढ्दो बैदेशिक पलायन र दुईचार वर्ष विदेशी धर्तीमा सिस्टमका कुरा सिकेर, बन्द जिन्दगीका उपहार स्वरुप भित्रिएको रेमिट्यान्समा सरकारी तथा निजी क्षेत्रका बादशाहहरुले पाँचतारे होटलमा स्याम्पेन फोडेर रंगीचंगी तुँवालोभित्र उब्जीएका समृद्ध पर्यटनका सपना सडकमा आउँदा फेरी सेलाएजस्तै पर्यटन दिवसका सेता व्यानरमा पनि खास उत्साह देखिएन ।
बहुसख्यक देशले विश्व पर्यटन दिवसको उत्सव मनाईरहँदा नेपालीहरुका लागि त झनै विशेष हुनुपर्ने हो । यसअर्थमा ३ महिनापछि नै हामी भ्रमण बर्ष २०२० मा प्रवेश गर्दैछौं । यद्यपी बितेको एक दशकमा पर्यटन दिवस मनाउने ढर्रामा खास परिवर्तन देखिएन ।
पर्यटनको मुख्य आधार ईलाकाका रुपमा रहेको ठमेल र यसभित्र पर्यटन क्षेत्र सुधारका लागि भन्दै खोलिएका दर्जनौं संस्थाहरुको मानसिकता पनि लोकलाज ढाक्नकै लागि पर्यटन दिवसको जनचेतना, प्रभातफेरी लगायतका नाममा दिवसको सुचना दिनमै समय खर्चिए । जबकी, त्यो भन्दा महत्वपूर्ण कुरा त भ्रमण वर्षको पूर्वसन्ध्यामा रहेको स्थीतिमा विभिन्न पर्यटकीय गन्तव्यहरुको पहिचान, व्यवसायीकै तर्फबाट भन्ने हो भने व्यावसायिक प्याकेज, विदेशी पर्यटकहरु सम्मिलित विशेष कार्यक्रम आयोजना गर्न सक्नुपथ्र्यो, तर त्यसो भएन । सरकारले राष्ट्रिय अन्तर्राष्ट्रिय प्रचारशैलीलाई अपनाउनु जरुरी भैसकेको छ ।
सरकारले जहिल्यै पनि चर्का कुरा, काम कम गर्ने गरेको स्थितिमा रमाईरहँदा निजी व्यवसायी पनि दुईचार जनाको झुण्ड भेला पारेर हुईया गर्नुसिवाय अरु केही देखिन्न । स्वार्थ मिल्दा भजन गाउने र अरुबेला सरकारको बिरोध गरेर नथाक्ने व्यवसायी आफैमा विभक्त छन् । 
पर्यटन विकासका लागि खोलिएका दर्जनौ संस्थामध्ये केहीले जनचेतना जगाउने पुरानै ढर्राको कार्यक्रम गरे, यद्यपी समान उद्देश्यका लागि खोलिएका संस्था भएरपनि नीति कार्यक्रम, एजेण्डा भन्दा पनि कसको ब्यानर ठूलो भनेर टाउको गनेर बस्दा अन्ततः विश्व पर्यटन दिवस निरीह बनाउन निजी क्षेत्र नै संलग्न भयो कि भन्ने प्रश्न उब्जिन्छ । 
ठमेलकै एक संस्थाले पर्यटन दिवसको दिन प्रभातफेरी आयोजना गर्यो, सञ्चयकोषबाट सुरु भएको भनिएको कार्यक्रम गणतन्त्र पार्क पुगेर टुंगीयो । अर्को संस्थाले पनि त्यसै गरी औपचारिकता बिसायो । तर उपस्थितहरुमा स्वतस्फूर्त रौनक भन्दा पनि आलटाले प्रबृत्तिमा सेल्फीका थान थपिनुबाहेक अन्य केही देखिएन ।
यसअघिका वर्षहरुमा पनि पर्यटकहरुलाई त्रिभुवन एयरपोर्टमै पुगेर फुलको माला लगाएर स्वागत गर्ने व्यवसायीहरुको सोच अहिले पनि फेरिएको छैन । सरकारको बिरोध गरेर नथाक्ने व्यावसायीहरु आफै पर्यटकहरुलाई आजित बनाउन व्यस्त छन् । सामान्य लाग्ने सार्वजनिक शौचालयको प्रबन्ध गर्ने कुरा ठालुबादी संस्थाका नाईकेहरुको राजनीतिक एजेण्डा बनेको पनि दशकौँ बितिसकेको छ, यस्तोमा सरकार र व्यावसायिक संस्थाको भिन्नता कहाँ देखियो र । 
केही समयअगाडि नेपाल घुम्न आएका ताईवानी जोडी हिमाली यात्राका क्रममा बाटोको खोचमा चिप्लिएर महिनौ हराए । विकासे संस्थाहरुले खोजी गर्नुसम्म गरे तर भेटेनन, अन्ततः ताईवानबाट युवकका पिता आएर हेलिकोप्टरबाट खोजी गर्दा एकखोल्सामा अड्किरहेको अवस्थामा  ४८, ५० दिनको खोजीपछि युवक भेटिए, तर उनकी प्रेमिका २ दिन अगाडि बितीसकिछन ।  
संसार क्रियटिभिटीमा टिकेको छ, केही समयअगाडि टान निर्वाचनको बेला सुचना प्रबिधीको चर्का कुरा गर्ने एकजना नेतृत्वका आकांक्षी आफु उमेद्धवार बन्न पाएनन्, यद्यपी उनकै समुहका व्यक्ति नेतृत्वमा छन् । कम्तीमा उनले भनेजसरी नै एउटा सामान्य चिपको प्रयोग गरेर ट्रयाकिङ सिस्टम मात्रै राख्न सकिएको भए उनीहरुमध्ये एकले पलपल मृत्युवरण र मृत्यु बेहोर्न पर्दैनथ्यो । कम्तीमा विकासे संस्थाका नेतृत्वमा यि कुराको चेतना पलाओस् । पुरानो ढर्राले पर्यटनको गरिमा बढ्दैन, एड्भेन्चरमा विश्व रमाईरहँदा हामीले हिमाली पदमार्ग हिड्दा खेरीनै बियोग बेहोरीरहनुपर्ने स्थितिले नेपालको पर्यटन उँभो लाग्न कदापी सक्दैन ।
यस्तोमा विश्व पर्यटन दिवसका दिन सरकार र व्यवसायीका तर्फबाट एउटा मात्रै असल प्रतिज्ञा पूरा गर्न सक्यौ भने सम्बृद्ध पर्यटन सम्भव छ । सबैको यसमा ध्यान जाओस् ।

 

तपाईंको बिचार