Thursday, December 12, 2019

आन्तरिक तथा बाह्य पर्यटकका लागि आकर्षक गन्तब्य बन्दै टौदह

प्रकाशित मिति: 2019/11/20

४ मंसिर, कीर्तिपूर । काठमाण्डौं उपत्यकाकै सबैभन्दा ठूलो प्राकृतिक ताल हो टौदह । टौदह काठमाठौंबाट ७ किलोमिटरको दूरीमा दक्षिणकाली जाने बाटोमा पर्दछ । ५ सय मिटर लम्बाई र ४ सय मिटर चौडाई क्षेत्रफलमा फैलिएको यो पोखरीको गहिराई ६ मिटर रहेको छ ।

टौदहले बुगद्यो रातो मच्छिन्द्रनाथको भोटो देखाउने जात्राको किम्बदन्तीसँग पनि सम्बन्ध राख्दछ । कर्कट नागको बास रहेको विश्वास गरिने दहमा नागपञ्चमीका दिन मेला लाग्छ । टौदहलाई ललितपुरको जात्रा आख्यान, किर्तिपुरको सभ्यतास्थल र काठमाडौंको सिमाना सम्पदा पनि मान्ने गरिन्छ ।

परापूर्व कालमा मन्जुश्रीले बस्ती बसाउन काठमाडौँ उपत्यकामा जमेको पानी चोभारमा काटेर निकास निकाले पश्चात उपत्यकाभन्दा बाहिर केहि तालहरु बाकी रहे र हाल अस्तित्वमा रहेको एउटै ताल टौदह हो । नेवारी भाषामा टौ को अर्थ सर्प र दहको अर्थ ताल हो ।

मन्जुश्रीले काठमाण्डौको पानी बाहिर पठाउँदा आधा शरीर मान्छेको जस्तो र आधा सर्पको जस्तो भएको असंख्य नागहरु बेवारिसे भए र ति नागहरुलाई टौदहमा लगेर राखिएको र राखिएपश्चात नाग राजाले स्थानीयको संरक्षण गर्ने गरेको किम्वदन्ती रहेको छ । सोहीकारण यो तालमा कोही पनि पौडी खेल्न तथा माछा मार्न नजाने गरेको भनाई छ ।

कीर्तिपूरमा अवस्थित टौदहमा दैनिक सयैंको संख्यामा आन्तरीक तथा बाह्य पर्यटक आउने गरेका छन् । रमणीय ऐतिहासिक, धार्मिक र पर्यटकीय उक्त क्षेत्रमा पर्यटकको दिनहुँ घुइँचो लाग्ने गरेको छ । पछिल्लो समय प्रेमिल जोडीको घुम्न जाने मुख्य आर्कषक गन्तब्यको रुपमा पनि यो ठाउँ परिचित हुँदै गएको छ ।

तालको वर पर बनाइएका आकर्षक बेन्चमा बसेर ताल र तालको बिचमा रहेको सदाबहार रुख, बिभिद प्रजातिका रंगी बिरंगी माछाहरु हेर्दाको आनन्दनै बेग्लै छ । ताल भित्र रहेका ठूला ठूला रंगिबिरंगी माछालाई आहारा दिएर आनन्द लिने मानिसहरुको ठुलै जमात देखिन्छ । माछाहरु पनि मज्जाले कुस्ती खेल्दै खुसी मानेर आहारा खाइरहन्छन् । माछाले चारो खाएको दृष्य हेरेर पर्यटक पनि रमाइलो मानिरहेका हुन्छन् ।

पर्यटकीय सम्भावना बोकेको टौदहको थप स्याहार र सम्बर्धनमा सम्बन्धित निकायले ध्यान पुर्याए नजिकिँदै गरेको भ्रमण वर्ष २०२०लाई सफल बनाउन सहयोगी एक उपयुक्त गन्तब्य बन्नेमा दुईमत देखिँदैन ।

तपाईंको बिचार