Thursday, December 12, 2019

दोस्रो आन्तरिक पर्यटन मेला (डीटीएम २०२०) आउँदो फाल्गुन ९ र १० गते भृकुटीमण्डपमा हुँदै

प्रकाशित मिति: 2019/11/21

५ मंसिर, काठमाडौं । गन्तव्य नेपाल ईभेन्ट म्यानेजमेन्टले ‘पहिला देश अनि विदेश’ भन्ने मुल नाराका साथ आयोजना गर्न लागेको दोस्रो डोमेस्टिक टुरिजम मार्ट (डीटीएम २०२०)को मिति औपचारिक रुपमा घोषणा गरेको छ । आगामी फाल्गुन ९ र १० गते (२१ र २२ फेबु्रअरीमा) काठमाडौंस्थित भृकुटीमण्डपको प्रदर्शनी हलसहितको चौरमा उक्त मेला आयोजना गर्न लागिएको विहिबार नेपाल पर्यटन बोर्डमा आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी गराइयो । 

नेपाल भ्रमण वर्ष २०२० लाई सहयोग गर्ने उद्देश्यका साथ आयोजना गर्न लागिएको मेलामा ७७ वटै जिल्लाका पर्यटकीय गन्तव्य, पर्यटकीय गतिविधिहरुको प्रदर्शन गरिने छ । 
मेलामा १ सय ५० वटा भन्दाबढी व्यापारीक तथा पर्यटकीय गन्तव्य पहिचान गर्ने स्टलहरु रहने छन् । 

पर्वतारोहणका लागि चाहिने ट्रेकिङ सामाग्री, हस्तकला सामाग्री, बिभिन्न जिल्लाबाट उत्पादित सामाग्री, पर्यटकीय होटलका स्टल, ट्राभल, ट्रेकिङ, एयरलाईन्स, प्याकेज टुरका साथै पर्यटन बजारमा सक्रिय सबै पर्यटन संस्थाहरु टान, हान, नाट्टा, सोट्टो, एनएमए, टुर्गान, नाटोज, नारा, नेफा, नेपाल होमस्ट एसोसिएसन, एफएनसीसीआई, टीटीडीसी, एनएमआईए, एनएमजीए, पाटा नेपाल च्याप्टर, रेवान, टिगान, भिटोफ, चेम्बर, कुरियर संघ, हस्तकला, गार्मेन्ट संघ, एनटीभीए, कन्सल्टेन्सी, केबुलकार, एड्भेन्चर ट्रिपलगायत पर्यटकीय संघ संस्था, स्कुल कलेज प्रतिष्ठानका स्टलहरु रहने छन् । मेलाको बाहिरी भागमा देशैं भरीका खानाका परिकारहरुको फुड स्टल पनि रहने छ । 

मेलामा सहभागिहरुले आफुले चाहेको वस्तु, पर्यटकीय जानकारी तथा अन्य सेवा लिन सक्नेछन् । देशका शीर्ष नेता, संघीय सरकारका मन्त्री, अन्य उच्च पदस्थ अधिकारी, सातै प्रदेशका मुख्यमन्त्री, मन्त्रीसहित विभिन्न राजनीतिक दलका नेता, सांसद, पर्यटन विज्ञ तथा व्यवसायीहरुको उपस्थितिमा उद्घाटन गरिने उक्त मेलामा लाखांै दर्शकहरुले अवलोकन गर्ने अपेक्षा गरिएको छ ।  

मेलाको जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेपाल पर्यटन बोर्डका सञ्चालक समिति सदस्य दीपक महतले नेपालको समग्र पर्यटन विकास र मुख्यत भ्रमण वर्ष २०२० लाई सफल पार्न यो मेला कोशेढुंगा सावित हुने विश्वास व्यक्त गर्नुभयो । निजी क्षेत्रबाट स्वतस्फुर्त रुपमा मुलुकको पर्यटन प्रवद्र्धनार्थ आयोजना गर्न लागिएको हुनाले यो मेला सफला पार्नका लागि यो वा त्यो बहाना नबनाइकन सबै एक ढिक्का भएर लाग्नुपर्नेमा उहाँले जोड दिनुभयो । 

त्यस्तै पर्यटन बोर्डका सञ्चालक समिति सदस्य पम्फा धमलाले सरकारले गर्नुपर्ने काम गन्तव्य नेपालले अघि बढाएको भन्दै यसलाई सफल पार्नका लागि आफू आफ्नो तर्फबाट सम्पूर्ण रुपमा लाग्ने प्रतिबद्धता जनाउनुभयो । 

पत्रकार सम्मेलनमा टे«किङ एजेन्सिज एसोसिएशन अफ नेपाल (टान)का अध्यक्ष खुमबहादुर सुवेदी, टानका पूर्व अध्यक्ष चन्द्र रिजाल, नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्य रामशरण थपलिया, गाउँ पर्यटन प्रवद्र्धन मञ्च (भिटोफ नेपाल)का पूर्व अध्यक्ष कमल सापकोटा, नेपाल एसोसिएशन अफ टुर एण्ड ट्राभल एजेन्ट (नाट्टा)का प्रथम उपाध्यक्ष अच्युत गुरागाईंलगायतले शुभकामना मन्तवय राख्दै नयाँ भिजन र मिसनका साथ गन्तव्य नेपालले आयोजना गर्न लागेको डीटीएमलाई सफल पार्न आआफ्नो ठाउँबाट सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । 

गन्तव्य नेपाल गु्रपका अध्यक्ष शिव अधिकारी अविरलले देशभरी पर्यटनमैत्री वातावरण सिर्जना गरेर सरकारले अघि बढाएको भ्रमण वर्षलगायतका पर्यटकीय अभियानलाई सफल पार्नका लागि मेला आयोजना गर्न लागिएको भन्दै यसको सफलताका लागि सबैबाट साथ र सहयोग मिल्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले ७७ वटै जिल्लामा पर्यटनको अथाह सम्भावना भएर पनि संरक्षण र प्रवद्र्धनको अभावमा ओझेलमा परेको भन्दै त्यसलाई उजागर गर्ने उपयुक्त पर्यटन मञ्चको रुपमा मेला आयोजना गर्न लागिएको जिकिरसमेत गर्नुभयो ।  

कार्यक्रम संयोजक माधव प्रकाश सुवेदीले अघिल्लो वर्ष आयोजना गरिएको पहिलो डीटीएम सान्दार रुपमा सफल भएको र दोस्रो मेला अझ व्यवस्थित रुपमा सञ्चालन गर्नेगरी तयारी गरिएको जानकारी दिनुभयो ।  

उहाँकाअनुसार मेलालाई भव्य रुपमा सफल बनाउनका लागि विभिन्न संघसंस्थाका प्रतिनिधी, व्यवसायी, पत्रकार, बुद्धिजिबीहरुको सल्लाहबमोजिम रिपोर्टर्स् क्लबका अध्यक्ष ऋषि धमलाको संयोजकत्वमा डीटीएम मिडिया कमिटी गठन गरिएको छ । उक्त कमिटीको सहसंयोजकमा राससका समाचार सम्पादक विकास लोहनी, उपसंयोजकमा दि राईजिङ नेपालका नारायण उपाध्याय र राजधानी दैनिकका मधुजंग पाण्डे रहनुभएको छ । 
त्यसैगरी पत्रकार प्रकाश खालिङलाई डीटीएम प्रचारप्रसार कमिटीको संयोजकमा मनोनित गरिएको छ भने वरिष्ठ पर्यटन व्यवसायीहरु सुमन पाण्डे, आङछिरिङ शेर्पा र चन्द्र रिजाल संलग्न ३ सदस्यीय डीटीएम सल्लाहकार समितिसमेत गठन गरिएको छ । त्यसैगरी डीटीएम गुडविल एम्बास्डरको रुपमा पर्यटन व्यवसायीहरु मोहन लम्साल, राजेन्द्र प्रसाद सापकोटा, कमल सापकोटा, कुल बहादुर गुरुङ, गोपाल बाबु श्रेष्ठ, बीएन ढकाल र मनोज कुमार श्रेष्ठ (भडेल) मनोनित गरिएको छ भने डीटीएम ब्राण्ड एम्बास्डरको रुपमा पर्यटन व्यवसायी गीता गुरुङ, दावाछिरी शेर्पा र कल्पना महजर्नलाई मनोनित गरिएको छ । 

मेलाको व्यवस्थापकीय पक्ष तथा सहभागितालाई थप प्रभावकारी र देशव्यापी बनाउनका लागि ७ वटै प्रदेशबाट प्रदेश संयोजकको जिम्मेवारी तोकिएको छ । सोअनुरुप प्रदेश नम्बर १ को जिम्मेवारी गोविन्द ढुंगेललाई, प्रदेश नम्बर २ को जिम्मेवारी राम वलिदास, प्रदेश नम्बर ३ को जिम्मेवारी बलराम न्यौपानेलाई, प्रदेश नम्बर ४ को जिम्मेवारी सूर्य रेग्मीलाई, प्रदेश नम्बर ५ को जिम्मेवारी सुरेन्द्र भट्टराईलाई, प्रदेश नम्बर ६ को जिम्मेवारी अबिर मल्ल र प्रदेश नम्बर ७ को जिम्मेवारी शेरबहादुर वमलाई दिइएको छ । डीटीएम कानुनी सल्लाहकारमा रामशरण थपलिया र डीटीएम जनसम्पर्क समितिको संयोजकमा रविन प्रसाद थपलियालाई मनोनित गरिएको छ । 

 

 

तपाईंको बिचार