Wednesday, January 29, 2020

बिराटनगर एयरपोर्ट स्तरोन्नती गर्न बजेट बिनियोजन

प्रकाशित मिति: 2019/12/12

२६ मंसिर, विराटनगर । विराटनगर विमानस्थल विस्तारको काम अघि बढाउन संघीय सरकारले बजेट विनियोजन गरेको छ । विमानस्थल विस्तारका लागि जग्गा अधीग्रहणको काम अघि बढाउन नागरिक उड्यन प्राधिकरणले तत्काल एक करोड बजेट बिनियोजन गरेको हो ।

चालु आर्थिक वर्ष्भित्र खर्च गर्नु पर्ने भनी विनियोजन भएको बजेटबाट विमानस्थल विस्तार गर्न आवश्यक पर्ने जग्गाको अधीग्रहण गर्न नागरिक उड्यन कार्यालय विराटनगरलाई भनिएको छ ।

तर मास्टर प्लानबिना आएको न्यून बजेटले काम अघि बढाउन नसकिने नागरिक उड्डयन विराटनगर कार्यालयले जनाएको छ ।

विमानस्थलका लागि आवश्यक जग्गा अधीग्रहणका लागि मात्र ३ अर्ब भन्दा बढी लाग्ने अनुमान गरिएको छ । एक हजार पाँच सय मिटरमा रहेको विमानस्थलको लम्बाई एक हजार मिटर बढाउने गरी डीपीआर तयार भएको छ । थप विस्तारका लागि एकसय ५० विगाहा जग्गा अधीग्रहण गर्नुपर्ने बताइएको छ ।
विमानस्थलको डीपीआर स्वीकृत भएको छैन् । विमानस्थल स्तरोन्नतीको मास्टर प्लान बनाएर फोकल पर्सन तोकेपछि मात्र काम अघि बढाउन सहज हुने विराटनगर कार्यालय प्रमुख टेकनाथ सिटौलाले बताए । मंसिर १७ गते विराटनगर विमानस्थल विस्तारका विषयमा पर्यटनमन्त्री योगेश भट्टराईको उपस्थितिमा विराटनगरमा छलफल भएको थियो । छलफल पछि मन्त्री भट्टराईले विमानस्थलको धावनमार्ग २५ सय मिटर बनाउने गरी काम अघि बढाउने गरी गुरुयोजना तयार पर्ने सहमति भएको बताएका थिए ।
विराटनगर विमानस्थल १५ सय मिटर लम्बाई रहेको छ । २५ सय मिटर लम्बाई बनाउँदा १५० बिगाहा जग्गा अधीग्रहण गर्नु पर्ने हुन्छ ।

नागरिक स्तरबाट विमानस्थल विस्तारको पहल भएपछि मन्त्री भट्टराई आफै छलफलका लागि विराटनगर आएका थिए । मन्त्रीले छलफल गरेको केही समयपछि विमानस्थल सस्तरउन्नी बजेट छुटिएपछि काम अघि बढ्ने आशा पलाएको विमानस्थल स्तारोन्नतीका लागि गठित संघर्ष समितिका संयोजक पुन्य भट्टराईले बताए ।

तपाईंको बिचार