Saturday, March 28, 2020

भृकुटीमण्डपमा हुने दोस्रो आन्तरिक पर्यटन मेला २०२० (डीटीएम) को तयारी तिब्र

प्रकाशित मिति: 2020/01/24

माघ १०, काठमाडौं । पहिला देश अनि बिदेश भन्ने मूल नाराका साथ गन्तव्य नेपाल ईभेन्ट म्यानेजमेन्टले आयोजना गर्न लागेको दोस्रो आन्तरिक पर्यटन मेला(डोमेस्टीक टूरीजम मार्ट २०२० (डीटीएम) को तयारी भव्य रुपमा अगाडी बढेको छ । आगामी फाल्गुन ९ र १० गते (२१ र २२ फेबु्रअरीमा) काठमाडौंस्थित भृकुटीमण्डपको प्रदर्शनी हलसहितको चौरमा उक्त मेला आयोजना हुने मेलामा सहभागि हुनका लागि एकसय भन्दा बढि स्टल बुकिङ भैसकेको गन्तव्य नेपाल ईभेन्ट म्यानेजमेन्टले जनाएको छ । नेपाल भ्रमण वर्ष २०२० लाई सहयोग गर्ने उद्देश्यका साथ आयोजना गर्न लागिएको मेलामा ७७ वटै जिल्लाका पर्यटकीय गन्तव्य, पर्यटकीय गतिविधिहरुको प्रदर्शन गरिने छ ।  जसको एकमात्र उदेश्य नेपाल भ्रमण बर्ष सफल पार्न एकैथलोबाट देश चिनाउने र लुकेर रहेका पर्यटकीय गन्तव्यहरुको उजागर गर्नुका साथै पर्यटन व्यावसायीहरुमा सकारात्मक उर्जा प्रदान गर्नु रहेको अध्यक्ष शिव अधिकारी अबिरलले बताए ।

मेलामा १ सय ५० वटा भन्दाबढी व्यापारीक तथा पर्यटकीय गन्तव्य पहिचान गर्ने स्टलहरु रहने छन् । मेलामा ट्रेकिङ सामाग्री, हस्तकला सामाग्री, बिभिन्न जिल्लाबाट उत्पादित सामाग्री, पर्यटकीय होटलका स्टल, ट्राभल, ट्रेकिङ, एयरलाईन्स, प्याकेज टुरका साथै पर्यटन बजारमा सक्रिय सबै पर्यटन संस्थाहरु टान, हान, नाट्टा, सोट्टो, एनएमए, टुर्गान, नाटोज, नारा, नेफा, नेपाल होमस्ट एसोसिएसन, एफएनसीसीआई, टीटीडीसी, एनएमआईए, एनएमजीए, पाटा नेपाल च्याप्टर, रेवान, टिगान, भिटोफ, चेम्बर, कुरियर संघ, हस्तकला, गार्मेन्ट संघ, एनटीभीए, कन्सल्टेन्सी, केबुलकार, एड्भेन्चर ट्रिपलगायत पर्यटकीय संघ संस्था, स्कुल कलेज प्रतिष्ठानका स्टलहरु रहने छन् । मेलाको बाहिरी भागमा देशैं भरीका खानाका परिकारहरुको फुड स्टल पनि रहने छ । यसका साथै मेलामा बिभिन्न मनोरञ्जनात्मक सांस्कृतिक प्रश्तुती समेत प्रदर्शन गरिनेछ । मेलामा सहभागिहरुले आफुले चाहेको वस्तु, पर्यटकीय जानकारी तथा अन्य सेवा लिन सक्नेछन् । देशका शीर्ष नेता, संघीय सरकारका मन्त्री, अन्य उच्च पदस्थ अधिकारी, सातै प्रदेशका मुख्यमन्त्री, मन्त्रीसहित विभिन्न राजनीतिक दलका नेता, सांसद, पर्यटन विज्ञ तथा व्यवसायीहरुको उपस्थितिमा उद्घाटन गरिने उक्त मेलामा लाखांै दर्शकहरुले अवलोकन गर्ने अपेक्षा गरिएको छ । 
मेला आयोजनाका सन्दर्भमा गन्तव्य नेपाल गु्रपका अध्यक्ष शिव अधिकारी अविरलले देशभरी पर्यटनमैत्री वातावरण सिर्जना गरेर सरकारले अघि बढाएको भ्रमण वर्षलगायतका पर्यटकीय अभियानलाई सफल पार्नका लागि मेला आयोजना गर्न लागिएको भन्दै यसको सफलताका लागि सबैबाट साथ र सहयोग मिल्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले ७७ वटै जिल्लामा पर्यटनको अथाह सम्भावना भएर पनि संरक्षण र प्रवद्र्धनको अभावमा ओझेलमा परेको भन्दै त्यसलाई उजागर गर्ने उपयुक्त पर्यटन मञ्चको रुपमा मेला आयोजना गर्न लागिएको जिकिरसमेत गर्नुभयो ।  मेला संयोजक माधव प्रकाश सुवेदीले अघिल्लो वर्ष आयोजना गरिएको पहिलो डीटीएम भव्य रुपमा सफल भएको र दोस्रो मेला अझ व्यवस्थित रुपमा सञ्चालन गर्नेगरी तयारी गरिएको जानकारी दिनुभयो । मेलालाई सफल बनाउनका लागि डीटीएम गुडवील एम्बेसडर, डीटीएम सल्लाहकार कमिटि, पर्यटन बिभाग प्रमुख, सञ्चार कमिटि प्रमुख, अन्तर्राष्ट्रिय बिभाग प्रमुख लगायत दर्जन भन्दा बढि डीटीएम कमिटि निर्माण गरी जिम्मेवारी हस्तान्तरण गरी युद्धस्तरमा काम भईरहेको आयोजकले बताएको छ । 

 
 

 

तपाईंको बिचार