Friday, October 20, 2017

पर्यटक बोलाउदै लाङटाङ

प्रकाशित मिति: 2016/04/20

बैशाख ८,काठमाडौं ।  अघिल्लो वैशाखको भूकम्पले हिउँपहिरो गएपछि रोकिएको लाङटाङको पर्यटन व्यवसायमा विस्तारै चहलपहल सुरु भएको छ । वैशाख १२ र २९ को भूकम्पले लाङटाङ हिमाल हल्लाएर गाउँ नै सखाप परेको थियो । हिमपहिरोबाट बचेका स्थानीयवासीले यहाँको पर्यटन क्षेत्रलाई फेरि पहिलेकै अवस्थामा फर्काउने जमर्को गरेका हुन् ।

लाङटाङ मध्यवर्ती क्षेत्र उपभोक्ता समिति र जिविसको सहयोगमा गोरेटो बाटो बनाइएपछि फाट्टफुट्ट पर्यटक आउन थालेका छन् । विगतको वियोग भुल्दै स्थानीय आफ्नो पेसामा फर्कंदै छन् ।  

अहिले लाङटाङ घुम्न स्वदेशी र विदेशी गरी दैनिक १० जना जति पर्यटक आउने गरेका छन् । भूकम्पअघि बर्से्नि १५ हजार पर्यटकले यस क्षेत्रको भ्रमण गर्थे । लाङटाङ राष्ट्रिय निकुञ्जका वार्डेन हरिभद्र आचार्यले पनि अहिले यहाँको पर्यटनमा विस्तारै चहलपहल सुरु भएको बताए ।

गत असोज र कात्तिकमा सेना र स्थानीयवासी मिलेर बाटो खनेको भए पनि त्यो बाटो सीधा थिएन । दुई साताअघि लाङटाङ खोला किनार स्याफ्रुबेसीं (पैरे–दोभान–बेम्बो) रिम्चेसम्मको गोरेटो खोलिएको  स्थानियले बताए । यस पैदल मार्गमा होटलहरु सञ्चलनमा आउनेक्रम बढेको छ ।   
 हिउँपहिरोमा परेर स्वदेशी र विदेशी गरी २ सय १० जनाको मृत्यु भएको थियो । त्यो हिउँपहिरामा परेर पुरिएकामध्ये अहिलेसम्म २९ जनाको मात्र कंकाल भेटिएको छ । ५३ जना अझै बेपत्ता छन् । बेपत्ताको सूचीमा लाङटाङ राष्ट्रिय निकुन्ज सुरक्षार्थ खटिएका नारायण दल गणका १० जनासमेत छन् ।


 

तपाईंको बिचार