Thursday, September 21, 2017

तंग्रिँदै बन्जीजम्प, आन्तरिक र्पटकको आर्कषण बढ्दो

प्रकाशित मिति: 2016/04/21

बैशाख ९, काठमाडौं ।  विनाशकारी भूकम्पपछि ६ महिना बन्द  भएको दक्षिण एसियाकै पहिलो साहसिक खेल बन्जी जम्प सञ्चालनमा आएसँगै क्रमशः पुरानै अवस्थामा फर्कंदैछ । सञ्चालनको पाँच महिनापछि खेल पुरानै अवस्थामा फर्कन थालेको हो ।   
बन्जी द लास्ट रिसोर्टले १७ वर्षदेखि सिन्धुपाल्चोकको मामिङ र लिस्ती गाविस जोड्ने भोटेकोसी नदीमाथिको झोलुङ्गे पुलमा यो खेल खेलाउँदै आएको छ। बन्जीसँगै र क्यानोनिङ, स्विङ जस्ता साहसिक खेल पनि सञ्चालनमा आएको रिसोर्टका वरिष्ठ व्यवस्थापक तथा बन्जी प्रमुख प्रकाशप्रसाद प्रधानले बताए ।
भूकम्पले  गएको पहिरोमा अरनिको राजमार्ग अवरुद्ध गर्दा बन्जी बन्द हुन पुगेको थियो। राजमार्ग खुले पनि पराकम्पको त्रासले तत्कालै खेल सञ्चालनमा ल्याउन नसकेको प्रधानले बताए। मंसिरदेखि खेल र रिसोर्ट दुवै सञ्चालनमा ल्याइएको हो। तातोपानी नाका नखुल्दा विदेशी पर्यटकको आगमन भने ठप्प जस्तै छ। ’बन्जी खेल्न आन्तरिक पर्यटक भने आउन थालेका छन्। तिनीहरुको संख्या दिनानुदिन बढ्दो छ,’ बन्जी खेल प्रमुख प्रधानले भने।

सन् १९९९ देखि यो खेल दक्षिण एसियामै पहिलोपटक सञ्चालनमा ल्याइएको थियो। एक सय ६० मिटर उचाइमा अवस्थित भोटेकोसी पुलबाट डोरी शरीरमा बाँधेर नदी किनारमा हाम फाल्दै यो खेल खेलिन्छ। विश्वका १० उत्कृष्टभित्र भाटेकोसीको बन्जी समेटिएको छ।

राजधानी काठमाडौंबाट बन्जी खेल्न धेरै आउने प्रधानले बताए। उनका अनुसार दैनिक औसत ५र६ जनाले बन्जी गरिरहेका छन्। शनिबार यो संख्या ह्वात्तै बढ्न थालेको छ। त्यो दिन बन्जी गर्ने ३० जनासम्म पुगिसकेको उनी बताउँछन्। ’भूकम्पपछि पनि युवा पुस्तामाझ यो खेल उत्तिकै आकर्षक रहेको पायौं। सञ्चालनयता उनीहरु बिनात्रास आइरहेका छन् ।

सोमबारदेखि बिहीबारसम्म पाँच दिनमात्र बन्जी खेलाइन्छ। भूकम्पअघिको अनुभवमा यो खेलको सिजन बाह्रैमास जस्तो थियो। मार्च १५ देखि जुनसम्म बन्जी खेल्ने खचाखच हुन्थे।  भूकम्पअघि एकै दिन दर्जनौंले बन्जी गर्थे। स्वदेशी–विदेशी आधा–आधा जस्तै हुन्थे। शनिबार बिदा भएकाले भूकम्प जाँदा बन्जी गर्नेको भीड थियो। भूकम्पले पहिरो खसेर राजमार्ग अवरुद्ध हुँदा एक सय ३० स्वदेशी–विदेशी दुई दिनसम्म नाकाबन्दीमा परेका थिए। हवाई र स्थलमार्गबाट उनीहरुको रिसोर्टले नै उद्धार गरेको थियो।

 

तपाईंको बिचार