Sunday, December 17, 2017

खेलौला देउडा चैतली ,बझाङमा चैतलीको रौनक

प्रकाशित मिति: 2016/04/23

वैशाख ११, काठमाडौं ।  सुदूरपश्चिमको प्रसिद्ध मेला बान्नीकी चैतलीमा हजारौं श्रद्धालु तथा दर्शनार्थीले बान्नीको कांकर र बान्नी मस्टाको दर्शन गरेका छन् । परापूर्वकालमा महिसासुर दानवले बान्नी मस्टा देवतासँग युद्ध गरी पासोमा पारेको र मस्टालाई दानवको पासोबाट मुक्त गर्नका लागि सुर्मादेवी प्रकट भएर महिसासुरको बध गरेको खुसियालीमा बान्नीकी चैतली मेला लाग्छ ।

होली पूर्णिमाको दिनबाट सुरु हुने मेला चैत शुक्ल पूर्णिमासम्म लाग्छ । मेला सुरु भएपछि प्रत्येक रात मन्दिरमा बाजा बजाउने र मस्टाका करियाहरू चोखोनितो भएर व्रत बस्ने गरेको बान्नी मस्टाका पुजारी देवीराज पण्डितले बताए । 
सुर्मादेवीले भाला प्रहार गरी दानवको बध गरेको प्रतीकका रूपमा चैते औंसीका दिन काटेको कांकर (लिंगो) लाई चैत्र शुक्ल त्रयोदशीका दिन तोलेनी खेतमा हिँडाउने गरिन्छ । झन्डै २५ मिटर लामो कांकरलाई समाएर ३ सय मिटर जति हिँडाउने चलन छ । यसरी हिँडाएर ल्याएको कांकरलाई बान्नी मस्टाको मन्दिरमा चढाएपछि राक्षसको टाउकाको भकुन्डो बनाएर सुर्माले खेलेको सम्झनामा तल्लो छबिस र मल्लो छबिसका बासिन्दाबीच भकुन्डो खेल्ने प्रचलन छ ।
कांकर हिँडाएको र भकुन्डो खेल हेर्नका लागि बझाङलगायत सुदूरपश्चिमका विभिन्न जिल्लाबाट हजारौं कँडेल गाविसको बान्नीचौरमा आएका छन् । राक्षसलाई मारिसकेपछि सुर्मादेवीले पेटको छाला निकालेर दमाहा बनाएको र हातका औंलाको नगरा बनाई विजय उत्सव मनाएको किंवदन्ती छ । 
चैतली मेला हेर्नकै लागि पाल्पाबाट बझाङ आएका विजय रेग्मीले आफूले कहिल्यै नदेखेको दृश्य चैतलीमा देखेको बताए । ‘त्यति ठूलो रूखलाई मान्छेले समातेर हिँडाएको आजसम्म देखेको थिइनँ । हेर्दा असाध्यै रमाइलो पनि लाग्यो । डर पनि लाग्यो,’ उनले भने । मेला हेर्न र प्रवद्र्धन गर्नका लागि यसपटक नेपाल पर्यटन बोर्डको एक टोली आएको छ । 
बोर्डका वरिष्ठ अधिकृत खडविक्रम शाहको नेतृत्वमा सुन्दर सुदूरपश्चिम पर्यटन विकास अभियानका अभियन्ता किशोर खडका, पर्यटन व्यवसायीको छाता संगठन सोट्टो नेपालका अध्यक्ष यम खडकालगायतका व्यक्ति आएका हुन् । चैतली मेलामा बोर्डको सहभागिताले यहाँको संस्कृति प्रवद्र्धन हुने र पर्यटकको आवागमन बढ्ने आशा राखेको चैतली मेला व्यवस्थापन समितिका सदस्य मनोज पण्डितले बताए । 

 


 

तपाईंको बिचार