Sunday, December 17, 2017

भूकम्पको पीडा बिर्साउने गरी पोखराको पर्यटन प्रवद्र्धन गरिनुपर्नेमा पोखरेलीको जोड

प्रकाशित मिति: 2016/04/25


वैशाख १२ , पोखरा । २०७२ साल वैशाख १२ गते आएको भूकम्पका कारण  तहसनहस बनेको पोखराको पर्यटनलाई उकास्ने सोचका साथ क्रियाशील पर्यटन व्यवसायीले भूकम्पको पीडालाई बिर्साउने गरी पर्यटन प्रवद्र्धन गरिनुपर्नेमा जोड दिएका छन् । अघिल्लो वर्षको सुरुमा नै आएको भूकम्प र त्यसपछिको नाकाबन्दीका कारण जर्जरपूर्ण अवस्थामा पुगेको पर्यटनलाई पूर्ववत् अवस्थामा फर्काउने तर्फ सबैको ध्यान जानुपर्नेमा पोखरेली व्यवसायीको जोड छ ।
पर्यटन व्यवसायी एवम् पश्चिमाञ्चल होटेल संघ (हान) पोखराका अध्यक्ष भरतराज पराजुली भूकम्प आफैँमा एउटा प्राकृतिक प्रकोप भएका कारण यसले गत वर्ष दिएका पीडालाई भुल्दै पोखरेली पर्यटन व्यवसायी यहाँको पर्यटन प्रवद्र्धनका लागि सक्रिय बनेको बताउनुभयो । ‘पर्यटनको प्रवद्र्धनका लागि राज्यबाट व्यवसायीले शान्तिसुरक्षा र राजनीतिक स्थिरताको अपेक्षा गरेका छन, शान्तिसुरक्षा र राजनीतिक स्थिरता भएमा पोखराका पर्यटन व्यवसायी जस्तोसुकै अवस्थामा पनि प्रभावकारी सेवा प्रवाह गर्न  तयार रहेका छन,’ उहाँले भन्नुभयो । पोखरामा हाल लगभग ५ सयको हाराहारीमा सुविधासम्पन्न होटलले सेवा प्रवाह गरिरहेका छन् । पराजुलीका अनुसार पोखरामा दुई पाँचतारे, १५ वटा तीनतारे र अन्य सुविधासम्पन्न होटलले भूकम्प पूर्वको अवस्थामा वार्षिक आन्तरिक तथा बाह्य पर्यटक गरी करिब छ लाखदेखि सात लाखसम्म पर्यटकलाई सेवा दिइरहेका छन् ।
पर्यटकलाई लक्षित गरी व्यवसायीले पोखरामा लगभग ८० अर्बभन्दा बढी लगानी गरिसकेको बताउँदै उहाँले लगानीको क्रम तीव्र रूपमा अघि बढिरहेको बताउनुभयो । त्यस्तै पोखरा पर्यटन परिषद्का अध्यक्ष सोम थापा पनि नयाँ वर्षलाई भूकम्पलाई बिर्साउने वर्षका रूपमा यहाँको पर्यटन प्रवद्र्धन गर्नुपर्ने धारणा राख्नुभयो । भूकम्प र नाकाबन्दीका कारण अत्यन्त पीडादायी वर्षका रूपमा २०७२ साललाई पोखरेली पर्यटन व्यवसायीले लिएको बताउँदै उहाँले ती सबै पीडालाई शक्तिमा रुपान्तरण गरी यहाँको पर्यटकीय विकासमा सक्रिय बन्नुपर्ने वर्तमानको आवश्यकता भएको उल्लेख गर्नुभयो । भूकम्प र नाकाबन्दीका कारण गत वर्ष आन्तरिक र बाह्य पर्यटक गरी लगभग २५ प्रतिशत मात्र पर्यटक पोखरा आएको बताउँदै उहाँले यस वर्ष पर्यटकको ठूलो चाप पोखरामा बढ्ने अपेक्षा गरिएको बताए ।

 

तपाईंको बिचार