Wednesday, March 29, 2017  |    

गत वर्ष होटलमा वैदेशिक लगानी ७० प्रतिशतले घट्यो ,३० होटल चिनीया लगानीमा बनाउन प्रस्ताव

प्रकाशित मिति: 2016/04/25


वैशाख १३, काठमाडौं । गत वर्ष नेपालको होटल व्यवसायमा भित्रिने विदेशी लगानी झन्डै ७० प्रतिशतले घटेको छ । उद्योग विभागका अनुसार २०७१ सालमा होटल व्यवसायमा कुल ५ अर्ब २२ करोड रुपैयाँ बराबरको विदेशी लगानी प्रस्तावित भएकोमा २०७२ सालमा प्रस्तावित लगानी १ अर्ब ५७ करोड रुपैयाँमा सीमित भएको छ । 
      विभागका अनुसार ०७१ मा १ सय २३ होटल तथा रिसोर्टले सञ्चालन अनुमति लिएका थिए । तर ०७२ मा मात्र १ सय २ होटल विभागमा दर्ता भएको आकडा रहेको छ ।  त्यस्तै गतवर्ष नेपाल आउने चिनियाँ पर्यटकको संख्या शून्यमा झरे पनि होटल तथा रिसोर्टमा भित्रिने विदेशी लगानीमा भने चिनियाँ पहिलो नम्बरमा रहेको छ । ०७२ सालभित्र उद्योग विभागमा काठमाडौंका लागि मात्र दर्ता भएका ६२ वटा होटल तथा रिसोर्टमध्ये ३० वटा चिनियाँ कम्पनीको लगानी रहेको छ । भूकम्प र नाकाबन्दीका कारण विदेशी लगानीमा गत वर्ष कमी आएको होटल व्यवसायीले बताउछन् । २०७१ र २०७२ दुवै वर्षमा विदेशी लगानीमा दर्ता भएका सबैभन्दा धेरै होटल तथा रिसोर्ट काठमाडौंमा छन् भने दोस्रोमा ललितपुर रहेको छ । काठमाडौंका ६२ वटा  होटलमा १ अर्बभन्दा बढीको लगानी प्रतिबद्धता भएको छ भने उपत्यकाबाहिर पनि विदेशी लगानीकर्ताले होटल व्यवसायका क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । पोखरामा विदेशी लगानीमा २० वटा  मझौला होटल खोल्ने तयारी भएको छ । त्यस्तै जुम्ला, सोलुखुम्बु, चितवन, बाँके, झापा, मोरङ, नुवाकोटलगायतका जिल्लाहरुमा पनि विदेशी लगानीकर्ताले होटलमा लगानी गर्ने इच्छा देखाएका छन् । विदेशी लगानीकर्ता संयुक्त राज्य अमेरिका, पाकिस्तान, बङ्गलादेशलगायत देशका रहेका छन् । 

 

तपाईंको बिचार