Saturday, June 24, 2017  |    

१२ करोडको बजेट विनियोजनपछि ३५० वर्षपछि रानीपोखरीको पुर्ननिर्माण सुरु

प्रकाशित मिति: 2016/04/29


बैशाख १७ , काठमाडौं । रानीपोखरी पुनःनिर्माणको लागि १२ करोड रुपैयाँ विनियोजन भएपछि पुर्ननिर्माणको काम सुरु भएको छ । पहिलो चरणमा विहिबार देखि त्यहाँको पानी निकाल्ने क्रम सुरु भएको छ।
काठमाडौँ महानगरपालिकाका प्रवक्ता ज्ञानेन्द्र कार्कीका अनुसार पानी निकालेपछि पोखरीका सबै माछा टौदहमा लगेर व्यवस्थापन गर्ने योजना छ ।  पोखरीका राजहाँस कहाँ लगेर व्यवस्थापन गर्ने भन्नेबारे अझै यकिन नभएको महानगरले जनाएको छ । “सफा नगरेको लामो समय भएकाले उक्त पोखरीमा कति हिलो रहेको र त्यसका लागि कति जनशक्तिको आवश्यक पर्ने भने यकिन भएको छैन”– उहाँले भन्नुभयो । गत वैशाखमा गएको विनाशकारी भूकम्पका कारण पोखरीको मध्यभागमा अवस्थित बालगोपालेश्वर मन्दिर समेत पूर्णरुपमा क्षति भएको थियो । सो मन्दिरको पनि पुनःनिर्माणको काम गरिनेछ । झन्डै ३५० वर्षपछि काठमाडौँ महानगरपालिकाले सो मन्दिरसँगै रानीपोखरी सुन्दर बनाउन लागेको हो । 

     पुनःनिर्माणका लागि रु १२ करोडको बजेट विनियोजन गरिएको छ। गत माघ २ गते राष्ट्रपति विद्यादेवी भण्डारीले रानीपोखरी पुगेर पुनःनिर्माण अभियानको थालनी गरिसकेका छन्। रानीपोखरीको ६० रोपनी जग्गामध्ये ४० रोपनी पोखरीले ओगटेको छ । रानीपोखरीका केही स्थानमा विद्युत् जडान गरी झिलिमिली बनाइने र पोखरीको संरक्षणका लागि चारैतिर रेलिङ निर्माण गर्ने, बोटबिरुवा रोप्ने, हरियालीसँगै सङ्गीतमय फोहरा बनाउने र पोखरी अवलोकन गर्ने प्रयोजनका लागि परिक्रमा पथ पनि बनाउने महानगरले जनाएको छ।

तपाईंको बिचार